सामदोङमा नाबालिग विद्यार्थीमाथि भएको अमानवीय व्यवहारको चौतर्फी निन्दा, आरोपी विरुद्ध कडा कानुनी कारबाहीको माग
सामदोङमा नाबालिग विद्यार्थीमाथि भएको अमानवीय व्यवहारको चौतर्फी निन्दा, आरोपी विरुद्ध कडा कानुनी कारबाहीको माग


गान्तोक, 14 अगस्त (हि.स.)। गान्तोक जिल्लाको सरकारी संस्कृत महाविद्यालय, सामदोङमा अध्ययनरत एक नाबालिग विद्यार्थीमाथि भएको अमानवीय व्यवहारको घटनालाई लिएर चौतर्फी निन्दा एवं विरोध भएको छ। यस घटनाको सत्तारुढ़ एसकेएम पार्टी लगायत विभिन्न राजनीतिक दल र संघ संस्थाहरूले तीव्र भत्सर्ना जनाएका छन्।

उल्लेखनीय छ, सामदोङ सरकारी संस्कृत महाविद्यालयमा अध्ययनरत एक नाबालिग विद्यार्थी विरुद्ध आरोपी व्यक्तिले जातिवादी टिप्पणी गर्दै प्रताड़ित गरेको भिडियो सामाजिक सञ्जालहरूमा भाइरल भएको छ। यस घटनाको सम्बन्धमा आरोपी विरुद्ध प्राथमिकी दर्ता गरिएको छ र उसलाई पक्राउ गरेर कानूनी कारबाही शुरू गरिएको छ।

सत्तारुढ़ एसकेएम पार्टीले घटनको निन्दा गर्दै यो अमानवीय कार्यको हाम्रो समाजमा कुनै स्थान छैन र यो हाम्रो राज्यलाई परिभाषित गर्ने मर्यादा, सम्मान र सद्भावको मूल्यमान्यतामाथि दाग हो भनेको छ। एसकेएमले बाल आयोग, कानून प्रवर्तन एजेन्सीहरू र सबै सम्बन्धित अधिकारीहरूलाई यो मुद्दालाई तत्काल, पारदर्शिता र संवेदनशीलताका साथ सम्बोधन सुनिश्चित गर्न आग्रह गरेको छ।

एसकेएमले अनुसन्धान गहनरूपमा हुनुपर्छ र मुद्दा छिटो सम्पन्न गरिनुपर्छ, ताकि न्यायमा ढिलाइ नहोस् र न्यायबाट वंचित पनि हुनु नपरोस् भनेको छ। हाम्रो राज्यमा यस्ता कार्यहरू कहिल्यै सहन गरिने छैन भन्ने स्पष्ट सन्देश दिन आरोपी विरुद्ध कडा कानुनी कारबाही गरिनुपर्ने एसकेएमले आज विज्ञप्तिमा बताएको छ।

भाजपा सिक्किमले पनि घटनाको तीव्र निन्दा गर्दै असामाजिक तत्वहरूको यस्तो क्रूर र अमानवीय घटनाले मानव मर्यादा र मौलिक अधिकारको घोर उल्लङ्घन गरेको बताएको छ। एक युवा विद्यार्थीलाई जातीय गालीगलौज र शारीरिक यातना दिएर निशाना बनाउनु पूर्णतया अस्वीकार्य छ र यसले हाम्रो समाजको अन्तरात्मालाई हल्लाएको भाजपाले बताएको छ। यस पीडादायी समयमा पीडित र उनको परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै प्रदेश भाजपाले दोषीहरूलाई कडाभन्दा कडा सजाय सुनिश्चित गर्न माग गरेको छ।

एसडीएफ पार्टीले पनि उक्त घटनाप्रति आफ्नो गहिरो आक्रोश र निन्दा व्यक्त गर्दै घटनालाई समानता र मर्यादाको संवैधानिक मूल्यमान्यतामाथि प्रत्यक्ष आक्रमण बताएको छ। केही क्षेत्रबाट राजनीतिक दबाउ दिएर यो समाचारको प्रसारलाई दबाउन प्रयास भइरहेको थाहा लागेको आरोप लगाउॅंदै एसडीएफले चिन्ता प्रकट गरेको छ। एसडीएफले आरोपी विरुद्ध तत्काल र कडा कानुनी कारबाही, पीडित र उनको परिवारलाई पूर्ण सुरक्षा र सहयोग, निष्पक्ष, पारदर्शी र समयबद्ध जॉंचको माग गरेको छ।

सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले पनि उक्त घृणित र अस्वीकार्य कार्यको कडा शब्दमा निन्दा गरेको छ। सीएपीले यस घटनालाई केवल एक व्यक्तिमाथिको आक्रमण नभई सिक्किममा समानता, सामाजिक न्याय र सद्भावको सिद्धान्तमाथिको प्रत्यक्ष आक्रमण ठहर गरेको छ। सीएपीले आरोपी विरुद्ध कडा कानुनी कारबाही, पीडित परिवारलाई सुरक्षा र समर्थन, गहन जॉंच र शैक्षिक संस्थानहरूमा जाति आधारित भेदभावबारे जागरूकता र संवेदीकरण कार्यक्रमको माग गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande