दार्जिलिङ, 18 अगस्त (हि.स.)। चियाबारी श्रमिकहरुको बीस प्रतिशत बोनसको माग गर्दै कोलकातामा अनित थापाले राज्यको श्रम मन्त्रीसित भेट गरेका छन्। जीटीए प्रमुख अनित थापाले प्रेस विज्ञप्तिमा आज कोलकातामा पश्चिम बंगाल सरकारका श्रम मन्त्री मलय घटकसँग भेट गरेर दार्जिलिङ चिया बगान श्रमिकहरुको बोनस मुद्दाको समाधान र २०% बोनसको माग विषयमा कुराकानी गरेको बताएका छन्।
उनले यस भेट अवधि उठाइएका मुद्दाहरूलाई लिएर एक ज्ञापन पत्र पनि बुझाएका छन्। थापाले पत्रमार्फत दार्जिलिङका चिया बगान श्रमीकहरूले वर्षेनी पाउने बोनसको भुक्तानीमा देखिएको समस्या तर्फ मन्त्रीको ध्यानाकर्षण गराउॅंदै प्रत्येक वर्ष, पूजा पर्व नजिकिँदै गर्दा बोनसमा हुने ढिलाई, विवाद र समस्याका कारण श्रमिकहरूले अन्यौलता, चिन्ता र दुःख झेल्नु परिरहेको अवगत गराएको बताएका छन्।
थापाले भने, 'मैले भने कि दार्जिलिङको चिया बगानका श्रमिकहरू विश्वप्रसिद्ध चियाको सफलताका मेरुदण्ड हुन्। तर, उनीहरूले आफ्नो अधिकार पाउन हरेक वर्ष संघर्ष गर्नुपरिरहेको छ। बोनसको विषयमा स्थायी समाधान नहुँदा समस्याहरू दोहोरिइरहेका छन्। यस वर्ष श्रमिकहरूले २०% बोनसको माग गरेका छन्। चियाको मूल्य र जीवनयापन खर्च बढेको सन्दर्भमा बोनस वृद्धि जायज छ। यी माग निष्पक्ष र न्यायोचित छन्।'
उनले श्रम विभाग र अन्य सरोकारवालाहरूलाई मिलिजुली छलफल गरी श्रमिकहरूको हितमा निर्णय गर्न आग्रह गरेको बताएका छन्, ताकि चिया बगानमा दीर्घकालीन शान्ति र स्थायित्व रहोस्। उनले हाम्रा चिया बगानका श्रमिकहरूको न्यूनतम न्याय र हक सुनिश्चित गर्न मन्त्रीको नेतृत्वमा चाँडै हस्तक्षेप र उचित कदम अपेक्षा गरेको उल्लेख गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक