शिक्षा विभागका कार्यकारी निर्देशकले गरे तीनधारेको भ्रमण, विद्यालय स्थानान्तरणमाथि चर्चा
शिक्षा विभागका कार्यकारी निर्देशकले गरे तीनधारेको भ्रमण, विद्यालय स्थानान्तरणमाथि चर्चा


खरसाङ, 14 अगस्त (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको शिक्षा विभागको कार्यकारी निर्देशक मनोबेन्द्र मोदकले बिहिवार तीनधारे क्षेत्रको निरीक्षण भ्रमण गरेका छन्। उनले गत केही दिन अघि अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको तर्फबाट दिइएको ज्ञापन अनुसार तीनधारेको राजबारीमा‌ जीटीएबाट निर्माण भएको विद्यालय भवनको प्रयोगलाई लिएर निरीक्षण भ्रमण पनि गरेका छन्।

शिक्षा विभागको कार्यकारी निर्देशक मनोबेन्द्र मोदकसितै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधान, कार्यकारी सदस्यहरु मनोहर थापा, राजीव तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यकारी निर्देशक मोदकले तीनधारेको राजबारीस्थित नयाँ भवनको निरीक्षण भ्रमणसितै तीनधारेको स्कूल डाँडामा रहेको तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालय भवनको पनि निरीक्षण भ्रमण गरे।

यस अवसरमा उनले विद्यालयका शिक्षिकाहरुसित पनि बातचीत गरेका थिए। तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयको जीर्णावस्थामा पुगेको भवनलाई सबैको सहमति भएमा राजबारीमा बनिएको नयाँ भवनमा सारिन सक्ने विषयमा चर्चा परिचर्चा गरिएको छ।‌

शिक्षा विभागको कार्यकारी निर्देशकले विद्यार्थी महासंघको तर्फबाट ज्ञापनपत्र प्राप्त भएपछि तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालय भवनको निरीक्षणमा आएको र अर्को ठाउँमा सार्ने विषयमा छलफल गर्नलाई भ्रमण गरिएको बताए। महानदी समष्टिको सभासदले यस विद्यालय भवन जीर्णावस्थामा पुगेकाले नयाँ भवन निर्माणको माग भए पनि भने जस्तो कार्य अघि नबढेको अवगत गराए।

उनले विद्यालय अर्को ठाउँमा सार्ने विषयमा छलफल गरिएको साथै यसलाई तीनधारेको राजबारीमा‌ जीटीएबाट निर्माण गरिएको विद्यालय भवनमा सार्ने विषयमा चर्चा परिचर्चा गरिएको जानकारी गराए। उनले यो भवन सार्न सके असल हुने र यसको लागि राजबारीमा बनिएको भवनको लागि तीनधारे उच्चत्तर माध्यमिक विद्यालयबाट अनुमति पाउनु पर्ने बताएका छन्।‌

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande