खरसाङमा 79औं स्वतन्त्रता दिवस समारोह खेलकुद लगायत विभिन्न गतिविधिहरू सहित सम्पन्न
Kurseong-I day


खरसाङ, 15 अगस्त (हि.स.)। खरसाङ नगरपालिका र सूचना अनि सांस्कृतिक विभाग खरसाङको‌ संयुक्त आयोजनामा आज खरसाङमा 79औं स्वतन्त्रता दिवस समारोह आयोजन गरियो। खरसाङको मन्टिभियट खेल मैदानमा आयोजना गरिएको स्वतन्त्रता दिवस समारोहको अध्यक्षता सूचना अनि सांस्कृतिक विभाग खरसाङका प्रभारी गोबिन छेत्रीले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ उपस्थित रहेका थिए।

यसैगरी, विशिष्ट अतिथिहरूको रुपमा खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपक, खरसाङ महकुमा पुलिस अधिकारी एसडीपीओ आईपीएस निरजा अनीश शाह, कार्यकारी सभासद कल्पना प्रधान, सभासद श्याम शेर्पा, रोगी कल्याण समितिका सभापति दिवस छेत्री, कार्यकारी अधिकारी कैलाश प्रसाद लगायत अन्यहरु उपस्थित रहेका थिए।

79औं स्वतन्त्रता दिवसको अवसरमा प्रमुख अतिथि खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरूङको बाहुलीबाट राष्ट्रिय झण्डा फहराइयो। उनले परेडको सलामी पनि लिएका थिए। कार्यक्रममा खरसाङ क्षेत्रका लगभग 27 वटा विद्यालयले सहभागिता जनाएका थिए। सन्त अल्फन्सेस विद्यालय र सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरूले ब्याण्डको प्रस्तुति दिए।

कार्यक्रममा विभिन्न स्कूलहरुका विद्यार्थीहरूले‌ रंगारंग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे भने सूचना अनि सांस्कृतिक विभागको कलाकार रिता गिरीले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा यस वर्षको माध्यमिक, उच्च माध्यमिक, आईसीएसई, आईएससी, सीबीएसई परीक्षाहरुमा उत्कृष्ट अंक ल्याउने छजना विद्यार्थीहरुलाई सम्मानित गरियो। यसरी नै कार्यक्रम छद्म भेष प्रतियोगिता पनि आयोजना गरिएको थियो।

म्याराथनको पुरुष वर्गमा दार्जिलिङका दुर्गाप्रसाद बूढा प्रथम, कालेबुङका विकास भुजेल दोस्रो र गेजिङ सिक्किमका गंगाहाङ सुब्बा तेस्रो भए। त्यसरी नै महिला वर्गमा प्रथम सुरुक समथार निवासी प्रिया तामाङ, दोस्रो बिजनबारी निवासी सम्झना सुब्बा र तेस्रो पनि बिजनबारी निवासी बन्दना सुब्बा भएका छन्।

कार्यक्रममा विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिने विशिष्ट व्यक्तिहरुलाई पनि सम्मान जनाइयो भने स्वतन्त्रता सेनानीहरुका परिवारका सदस्यहरुलाई पनि सम्मान जनाइयो। मार्च पास्टमा बोइज वर्गमा सन्त अल्फन्सेस विद्यालय र गर्ल्स वर्गमा सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालय बिजयी बने। आयोजक समितिका सचिव एंव खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधानले यसपालीको स्वतन्त्रता दिवस समारोह सफल‌ भएको बताउँदै समारोहमा सहभागी बनेका खरसाङ क्षेत्रका विभिन्न विद्यालयहरुप्रति आभार प्रकट गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande