कोलकाता, 15 अगस्त (हि. स.)। भारतको 79औं स्वतन्त्रता दिवसमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले देशवासीहरूलाई शुभकामना दिइन् साथै स्वतन्त्रता संग्रामका वीर अनि बंगालको नवजागरणका महानायक-नायिकाहरूलाई नमन गरिन्। उनले भनिन्, देशको लागि आफ्नो प्राणको आहुति दिने पूर्वजहरूको बलिदानबाटै स्वाधीनताको यो दिन सम्भव हुन सकेको छ।
मुख्यमन्त्रीले ट्वीट गरेर भनिन्, यो त्यो भूमि हो जहाँ देशबन्धु चित्तरञ्जन दास, नेताजी सुभाषचन्द्र बोस, खुदीराम बोस, प्रफुल्ल चाकी, कानाईलाल दत्त, बिपिनचन्द्र पाल, प्रीतिलता वाद्देदार, मातंगिनी हाजरा, मास्टरदा सूर्य सेन, बिनय-बादल-दिनेश औ बाघा जतिन जस्ता सपुत औ वीरांगनाहरूले जन्मिए। बंगालको यो धरतीले अन्याय तथा विदेशी शक्तिहरूविरूद्ध सदैव डटेर सामना गर्दै आइरहेको छ। संघर्ष हाम्रो रंगमा छ र आज पनि हामी अन्यायको विरोधमा आवाज उठाउँदै आएका छौं।
उनले बंगालको नवजागरणका महानायकहरूलाई पनि श्रद्धाञ्जली दिइन्। ममता ब्यनर्जीले राजा राममोहन राय, पण्डित ईश्वरचन्द्र विद्यासागर, श्रीरामकृष्ण परमहंस, स्वामी विवेकानन्द, बंकिमचन्द्र च्यटर्जी औ गुरुदेव रविन्द्रनाथ ठाकुरलाई विशेष रूपमा स्मरण गरिन्। उनले भनिन्, यी महापुरूषहरूले देशलाई नयाँ दिशा दिए, स्वाभिमान जगाए तथा स्वतन्त्रताको लागि प्रेरित गरे।
मुख्यमन्त्रीले भनिन्, स्वतन्त्रता संग्रामका सेनानीहरूले जुन ‘सोनार भारत’- को सपना देखेका थिए, त्यसलाई साकार पार्नु नै हाम्रो लक्ष्य हो। उनीहरूले देखाएको मार्गमा हिँड़ेर हामी देशवासीहरूको गरिमा अनि सम्मानको रक्षा गरिरहनेछौं। उनले विश्वास व्यक्त गरिन्, यस संघर्षमा जनता सदैव हाम्रो पक्षमा उभिनेछन्। आफ्नो सन्देशको अन्तमा ममता ब्यनर्जीले भनिन्- “जय हिन्द! वन्देमातरम्! जय बंगला!”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा