पाकिम, 15 अगस्त (हि.स.)। स्वतन्त्रता दिवस समारोह समिति रङ्गेलीको आयोजनामा महकुमा स्तरीय ७९ स्वतन्त्रता दिवस समारोह आज रङ्गेली बजार परिसरमा सम्पन्न भयो। यस कार्यक्रममा क्षेत्र विधायक एवम् सिक्किम सरकारका कृषि वागवानी, पशुपालन, पशु चिकित्सा एवम् मत्स्यपालन विभागका मन्त्री पुरणकुमार गुरुङ मुख्य आतिथिको रूपमा उपस्थित थिए। राष्ट्रिय झण्डा उत्तोलनसँगै राष्ट्र गानबाट सुरू भएको कार्यक्रममा प्रहरी विभाग रङ्गेली तथा विभिन्न पाठशालाका विद्यार्थीहरूद्वारा परेड प्रस्तुत गरिएको थियो।
मुख्य अतिथिले आफ्नो सम्बोधनका क्रममा राष्ट्रले आफ्नो स्वतन्त्रताको ७९ वर्ष पूरा गरेको अवसरमा सबैलाई बधाई अनि शुभकामना दिए। उनले स्वतन्त्रता सङ्ग्राममा बलिदान दिने वीरहरूको सम्झाना गर्दै श्रद्धाञ्जली व्यक्त गरे। उनले यस सालको स्वतन्त्रता दिवसको राष्ट्रिय थिम 'विकसित भारत २०४७' अनि सिक्किम राज्यको थिम राज्य स्थापनाको ५० वर्षको अवसरमा सुनौलो समृद्ध अनि समर्थ सिक्किम रहेको बताउॅंदै राज्यले भारत देशको अभिन्न अङ्ग भए पश्चायत विभिन्न उपलब्धि हासिल गरेको बताए।
उनले सरकारद्वारा गरिएका विभिन्न योजनाहरूको बारेमा जानकारी गराउॅंदै सिक्किमले स्वास्थ्य अनि शिक्षाको क्षेत्रमा धेरै कार्य गरेको बताए। भारत सरकारका योजनाहरू लागू गर्ने पूर्वोत्तर राज्यहरूमा सिक्किम पहिलो स्थानमा रहेको उनले जानकारी गराए। यसै वर्षको अप्रेल महिनादेखि रङ्गेलीको मार्ग भएर नथुला पास सुरू गरिएको बताउॅंदै यसबाट रङ्गेली परिसरमा पर्यटकहरू धेरै भित्रिने भएकाले यसबाट क्षेत्रका पर्यटनसँग सम्बन्धित सबैलाई लाभ उठाउन अनुरोध गरे।
मन्त्रीले पाकिम जिल्लामा पशु चिकित्सा महाविद्यालयको स्थापना गर्नुको निम्ति प्रक्रिया चलिरहेको जानकारी गराए। आगामी दिनमा यसै क्षेत्रमा महकुमा स्तरीय न्यायालयको स्थापना गर्ने योजना रहेको बताउॅंदै यस प्रकारको विकासले सामुदायिक क्षेत्रमा योगदान पुग्ने बताए। उनले आज नशालु पदार्थ सेवन ठूलो समस्या बनेको बताउँदै युवाहरूलाई नशालु पदार्थको लतमा नलागेर स्वनिर्भर बन्न आह्वान गरे।
कार्यक्रममा मुख्य अतिथि सहित रङ्गेलीबजार निवासी सेवा निवृत्त नर्स मोतीमाया राई, रङ्गेली प्रहरी विभागका उपनिरीक्षक रामकुमार कार्की, प्रहरीहरू अर्जुन छेत्री, केवल छेत्री अनि सुकमान प्रधानलाई सम्मान जनाइयो।
सिक्किम सरकारको पहलमा सुरू गरिएको 'मेरो रूख मेरो सन्तति' कार्यक्रम अन्तर्गत क्षेत्रका दुई लाभार्थी परिवारलाई रू १०,८०० सहितको ब्याङ्क पासबुक प्रदान गरियो। यसरीनै सिक्किम सरकारको ३५ प्रतिशत सब्सिडी अन्तर्गतको किसान क्रेडिट लोनका चार लाभार्थिहरूलाई चेक प्रदान गरियो।
गत ०४ अगस्तदेखि खेलाइएको स्वतन्त्रता दिवस समारोह खुला भलिबल प्रतियोगिताको फाइनल खेल पनि आज सम्पन्न भयो। यस फाइनल खेलमा रङ्गेली चालक सङ्घ (आरडीए) अनि क्लाउड 9 ब्लू माझ भएको थियो, जसमा (आरडीए) का दलले ३-० को अन्तरले विजय हासिल गर्न सफल बने। मुख्य अतिथिद्वारा विजेता दललाई नगद रु २,००००० दुई लाखको साथमा ट्रफी, प्रमाणपत्र अनि उपविजेत दललाई नगद रु १,५०,००० एक लाख पचास हजारका साथमा ट्रफी अनि प्रमाणपत्र प्रदान गरियो।
हिन्दुस्थान समाचार / बिशाल