एनएच-10 मा यातायात 17 अगस्तसम्म बन्द रहने
एनएच-10 मा यातायात 17 अगस्तसम्म बन्द रहने


सिलगढ़ी, 16 अगस्त (हि.स)। राष्ट्रिय राजमार्ग-10 मा यातायात प्रतिबन्धको समय-सीमालाई बढ़ाइएको छ। जिल्ला प्रशासनले 17 अगस्तसम्म सबै प्रकारको यातायातलाई बन्द राख्ने निर्णय लिएको छ।

जिल्ला प्रशासनको सूत्र अनुसार सेल्फी डाँड़ा, 29 माइल, 27 माइल समेत राष्ट्रिय राजमार्गका विभिन्न भागहरूमा अहिलेघरि पैह्रो गइरहेको छ। फलस्वरूप सड़क मरम्मतको कार्यमा बाधा उत्पन्न भइरहेको छ। पैह्रोले सोहोरेर ल्याएको ढुङ्गा-माटोलाई हटाउँदा फेरि नयाँ पैह्रो गएको कारणले सड़क पुनः अवरूद्ध भइरहेको छ। यात्रीहरूको सुरक्षालाई मध्यनजर गर्दै राष्ट्रिय राजमार्ग-10 लाई 17 अगस्तसम्म बन्द राख्ने निर्णय लिइएको छ।

उल्लेखनीय छ, पछिल्लो मंगलवार 15 अगस्तसम्म यातायातलाई बन्द राख्ने निर्णय लिइएको थियो। तथापि यो समय-सीमा बढ़्नेसक्ने आशंका कायमै थियो। आगामी पूजापूर्व राष्ट्रिय राजमार्ग बारम्बार बन्द भइरहेकोले पर्यटन व्यवसायीहरू चिन्तित भएका छन्।

सिलगढ़ीदेखि सिक्किम तर्फ जाने मुख्य मार्ग बन्द भएपछि व्यवसायीहरूलाई विभिन्न समस्याको सामना गर्न परिरहेको छ। तथापि प्रशासनले राष्ट्रिय राजमार्ग-10 बन्द भएको कारणले वैकल्पिक मार्गहरूको घोषणा गरेको छ। भारी वा माल वाहक वाहनहरू गोरूबथान, लाभा, अलगढ़ा एवं पेदोङ भएर गइरहेका छन्। सिलगढ़ी घुमेर पेशोक रोड हुँदै टिस्टा बजार तर्फ स-साना वाहनहरू गइरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande