गान्तोक, 16 अगस्त (हि.स.)। सिक्किम विश्वविद्यालयद्वारा गान्तोक अनि याङगाङ क्याम्पसमा 79औं स्वतन्त्रता दिवस राष्ट्रभक्ति अनि हर्षोल्लासका साथ पालन गरियो। विश्वविद्यालयका उपकूलपति प्रो. शान्तनुकुमार स्वैनद्वारा राष्ट्र ध्वजारोहणपछि सलामी अनि राष्ट्रगानसँगै कार्यक्रम शुरु भएको थियो।
आफ्नो सम्बोधनमा उपकूलपति प्रो. स्वैनले स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण विश्वविद्यालय परिवारलाई बधाई दिए। वीर स्वतन्त्रता सेनानीहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेपछि सिक्किमका केही स्वतन्त्रता सेनानीको उल्लेखनीय योगदानबारे पनि प्रकाश पारे। यसका साथै उनले सबैलाई राष्ट्र निर्माणको प्रक्रियामा इमान्दारी अनि समर्पणभावका साथ योगदान पुऱ्याउन पनि अपील गरे। एकताको महत्त्वमाथि बल दिँदै उनले सामूहिक प्रयासले राष्ट्रको विकासमा उल्लेखनीय साथै सकारात्मक प्रभाव ल्याउनसक्ने बताए।
विश्वविद्यालयका कूलसचिवले पनि यस महत्त्वपूर्ण अवसरमा सबैप्रति अभिवादन व्यक्त गरे। आफ्नो सम्बोधनमा उनले सिक्किम विश्वविद्यालयको स्थापनादेखि हालसम्मको प्रगति अनि विकासबारे जानकारी दिँदै विश्वविद्यालयको स्थायी क्याम्पस निर्माणको स्थितिबारे पनि अवगत गराए। कार्यक्रमलाई सफल बनाउन सहयोगको निम्ति उनले सबै सङ्काय सदस्य, गैर शिक्षणकर्मी अनि सुरक्षाकर्मीहरूप्रति आभार व्यक्त गर्दै आफ्नो सम्बोधन समापन गरेको जानकारी आज पीआईबीले दिएको छ।
हिन्दुस्थान समाचार / बिशाल