खरसाङ, 16 अगस्त (हि.स.)। तीनधारेको भानु ग्राममा स्थानीय दिपक प्रधानको घर पैह्रोले तान्ने अवस्थामा देखिएको छ। गत 12 अगस्तमा पानी झरीले पैह्रो गएपछि घर तान्ने अवस्थामा रहेको, अहिलेसम्म कुनै पनि जनप्रतिनिधिहरु पैह्रोको निरीक्षणमा नआएको र सहयोग पनि नपाएको पीडित परिवारले आरोप लगाएका छन्।
पैह्रो पीडित प्रधानले बताए अनुसार, उनको घरमुनिको पैह्रो सन् 2017 मा नै गएको, तर कतैबाट पनि मरमत्ति नभएको कारणले गर्दा अहिले वर्षैपछि पैह्रो बढ्दै गएको र यसपाली घर तान्ने अवस्थामा पुगेको छ। उनले यसपाली पनि आफ्नो घरमुनि पैह्रो गएपछि सबैतिर जानकारी गराए पनि कतैबाट पनि सहयोग प्राप्त नभएको गुनासो पोखे।
प्रधानले अघि बताए अनुसार, स्थानीय ग्राम पञ्चायतको तर्फबाट पनि कुनै सहयोग प्राप्त भएको छैन्। उनले पञ्चायत सदस्य योगराज प्रधानले आएर पोलिथिन दिएर सहयोग गरेको जानकारी गराए। तर उनले यो पैह्रो रोकथामको लागि सम्बन्धित विभागबाट स्थायी रुपमा सहयोग होस् भन्ने चाहेको बताएका छन्।
उनले 2017 मा पैह्रो गएपछि पैह्रो रोकथामको लागि पहल गरिएको र सबैतिर गुहार लगाए पनि काम नभएको आरोप लगाएका छन्। उनले आफ्नो घरमुनिको पैह्रो रोकथामको लागि जनप्रतिनिधिहरु सबैलाई निवेदन चढाएको बताएका छन्। उनले अहिले डरसरि बस्नु पर्ने अवस्था रहेको पनि बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक