खरसाङ, 17 अगस्त (हि.स.)। नेपालको राजधानी काठमाडौंमा चलिरहेको 'मेरो भोइस युनिभर्स सिजन 2' मा दार्जिलिङ पहाडका छोरा वाङ्गे गुरुङ ग्राण्ड फिनालेमा पुग्न सफल बनेका छन्। हाल उनी केही दिनको लागि घर आएका छन्। तकदाह ग्लेनवर्ण समष्टिको तकदाह चियाबारी निवासी वाङ्गे गुरुङ फाइनलमा पुग्ने दार्जिलिङ पहाडका एकमात्र प्रतियोगी हुन्।
रियालिटी शो 'मेरो भोइस युनिभर्स' का सबैभन्दा कम उमेरका प्रतियोगी वाङ्गे गुरुङका प्रशंसक एवं समर्थकहरूले 'वाङ्गे गुरुङ फ्यान क्लब' गठन गरेर उनलाई जिताउन लागि परेका छन्। यसै क्रममा आज वाङ्गे गुरुङ फ्यान क्लबका पदाधिकारीहरु खरसाङ आएका थिए। यसावधि वाङ्गे गुरुङ र फ्यान क्लबका पदाधिकारीहरुले खरसाङमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) का प्रमुख कार्यपाल अनित थापासॅंग भेट गरे।
यसरी नै वाङ्गे गुरुङ साथै टोलीले जीटीएको सूचना एवं सांस्कृतिक विभागका कार्यकारी सभासद अनोश थापालाई पनि भेट गरेका थिए। यसैगरी, खरसाङमा कलाकार संगठनका सदस्यहरूसित पनि भेटघाट गरेर सहयोगको लागि अपील गरेका छन्। वाङ्गे गुरुङ फ्यान क्लबका पदाधिकारीहरुले खरसाङमा एक पत्रकार सम्मेलन बोलाएर मेरो भोइस युनिभर्सको ग्राण्ड फिनालेमा पुग्न सफल बनेका वाङ्गे गुरुङलाई जिताउन भोट साथै सहयोगको लागि अपील गरेका छन्।
वाङ्गे गुरुङ फ्यान क्लबका अध्यक्ष सुशोभित गुरुङले पत्रकारहरुलाई सम्बोधन गर्दै वाङ्गे गुरुङलाई जिताउन भोटको अपील साथै सहयोगको लागि पनि अनुरोध गरे। उनले वाङ्गे गुरुङको लागि सोमवार दार्जिलिङको चौरास्तामा कार्यक्रम आयोजना गरिने पनि जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / हनोक