गान्तोक, 17 अगस्त (हि.स.)। काबी तिङ्दा बीएसीमा महकुमा स्तरीय 79औं स्वतन्त्रता दिवस उत्साहको साथमा मनाइयो। कार्यक्रममा क्षेत्र विधायक टीटी भोटिया मुख्य अतिथि थिए। मुख्य अतिथिले राष्ट्रिय झण्डा फहराएपछि राष्ट्रिय गानको साथमा शुरू भएको कार्यक्रममा एसडीएम काबी र बीडीओ काबीले क्रमश: राज्यपाल र मुख्यमन्त्रीको 79औं स्वतन्त्रता दिवस सन्देश पढेर सुनाए।
यस अवसरमा 21 जनालाई सम्मानित गरियो, जसमा 9 जना प्रथम श्रावण कुमार पुरस्कार प्रापक थिए। उनीहरूलाई एक लाख रूपियॉंको चेक, अंगवस्त्र र मुख्यमन्त्रीद्वारा हस्ताक्षरित प्रशस्ति पत्र अर्पण गरियो। यसरी नै समर्पित शिक्षक, एसडीएम काबीका उत्कृष्ट प्रदर्शन गर्ने कर्मचारी र कृषि विभागका मेहनती कर्मचारीहरूलाई सम्मानित गरियो।
क्षेत्र विधायक भोटियाले आफ्नो सम्बोधनमा स्वतन्त्रता सेनानीहरूको योगदानको सम्झाना गरे। उनले श्रावण कुमार पुरस्कारको स्थापनाको निम्ति मुख्यमन्त्री प्रेमसिंह तामाङलाई धन्यवाद दिए। उनले सिक्किम आमा सशक्तिकरण योजना र सिक्किम आमा सहयोग योजना लगायत सिक्किम सरकारका विभिन्न ध्वजवाहक कार्यक्रमहरूको बारेमा जानकारी गराए।
कार्यक्रममा बीडीओ काबी टाशी वाङग्याल भोटियाले धन्यवाद ज्ञापन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन सहायक निदेशक आरडीडी रिन्जिङ नामग्याल भोटियाले गरेको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।
हिन्दुस्थान समाचार / बिशाल