गान्तोक, 17 अगस्त (हि.स.)। सिक्किमका जनताको तर्फबाट मुख्यमन्त्री प्रेमसिंह तामाङलाई अनलाइन लटरी प्रतिबन्ध र मादक पदार्थविरुद्ध कडा कदम चाल्ने निर्णयप्रति आभार व्यक्त गरिएको छ। रिनाककी भारती शर्माले सोमवार जारी वक्तव्यमार्फत मुख्यमन्त्रीको यो निर्णयलाई ऐतिहासिक तथा दूरदर्शी ठहर गर्दै प्रशंसा गरेकी छन्।
उनको भनाइमा अनलाइन लटरी र लागूपदार्थ सेवनले राज्यको सामाजिक जीवनलाई गम्भीर रूपमा प्रभावित गरिरहेको थियो। “आत्महत्यामा वृद्धि, आर्थिक पतन, मानसिक स्वास्थ्यमा गिरावट, बालबालिकामा डिप्रेशन, वैवाहिक सम्बन्धमा दरार र एकल-अभिभावक परिवारहरूमा बढोत्तरी हुनेजस्ता समस्याले सिक्किमलाई ग्रस्त पारिरहेको अवस्थामा यो कदम जनजीवनलाई जोगाउने महत्त्वपूर्ण निर्णय बनेको छ,” शर्माले बताएकी छन्।
उनले यस अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएको सिक्किम प्रहरीलाई समेत धन्यवाद ज्ञापन गरेकी छन्। “प्रहरीको निरन्तर सेवा र शीघ्र कदम चाल्ने क्षमताले लागूपदार्थ नियन्त्रणमा महत्वपूर्ण योगदान दिइरहेको छ,” वक्तव्यमा उल्लेख छ।
मुख्यमन्त्रीको नेतृत्वमा असंख्य परिवारलाई नयाँ आशा मिलेको उल्लेख गर्दै उनले सिक्किम सुरक्षित तथा प्रगतिशील समाजतर्फ अघि बढ्ने बाटोमा रहेको विश्वास व्यक्त गरेकी छन्।
हिन्दुस्थान समाचार / बिशाल