2026 देखि प्राथमिक पाठशालाहरुमा जोइफूल लर्निङ शुरु गरिनेछ: राजेस चौहान
खरसाङ, 11 सेप्टेम्बर (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभागको आयोजनामा खरसाङमा दोस्रो अन्तर प्राथमिक पाठशाला प्रश्नोत्तर प्रतियोगिता 2025 बिहिवार सम्पन्न भयो। स्थानीय सन्त अल्फन्सेस विद्यालयमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ उपस्थित रहेका थिए। विशिष्ट अतिथिको रुपमा जीटीएको डेपुटी चेयरम्यान एवं प्राथमिक शिक्षा विभागका प्रभारी सभासद राजेस चौहान, कार्यकारी सभासद कल्पना प्रधान, सभासदहरु नवराज छेत्री, श्याम शेर्पा, नुरी शेर्पा, खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री, खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधान आदि उपस्थित थिए।
यस पाठशाला स्तरीय प्रश्नोत्तरी प्रतियोगितामा क्विज मास्टरको रुपमा विवेक दाहाल थिए भने निर्णायकगणमा नवाङ भोटिया, मिलिम थुङ लेप्चा र अनिमा तामाङ थिए। प्रतियोगितामा खरसाङ क्षेत्रका छवटा युनिटका विद्यार्थीहरुले भाग लिएका थिए भने चारजना विद्यार्थीहरूलाई सुकनामा हुने फाइनलको लागि चयन गरिएको छ। चयनित विद्यार्थीहरूमा देविका राई, केसाङ शेर्पा, निरक्षा राई र पंकज प्रधान सामेल छन्।
कार्यक्रमका मुख्य अतिथि खरसाङ नगरपालिकाका चेयरम्यान गुरुङले प्रतियोगितामा हार र जित भन्दा पनि भाग लिनु महत्वपूर्ण रहेको बताए। उनले प्रतियोगितामा विद्यार्थीहरूको प्रदर्शनप्रति सन्तुष्टि प्रकट गरे।
जीटीएका डेपुटी चेयरम्यान चौहानले आफ्नो सम्बोधनमा जीटीए प्रमुख अनित थापाको निर्देशनमा गत वर्षदेखि प्राथमिक पाठशालाहरुलाई लिएर प्रश्नोत्तर प्रतियोगिता शुरु गरिएको बताए। उनले प्रतियोगितामा प्रथम, दोस्रो हुनु ठूलो कुरा होइन, तर प्रतियोगितामा सहभागी हुनु नै ठूलो कुरा हो भनी बताए।
उनले गत 4 सेप्टेम्बरदेखि कालेबुङबाट शुरु भएको प्रतियोगिता मिरिक हुँदै आज खरसाङ र शुक्रवार रङ्ली रङ्लियट खण्डमा हुने बताए। उनले यस प्रतियोगिताको फाइनल 14 नोभेम्बरका दिन सुकनामा आयोजना गरिने जानकारी गराए। उनले 2026 देखि प्राथमिक पाठशालाहरुमा जोइफूल लर्निङ शुरु गरिने पनि जानकारी गराए।
उनले अब सरकारी स्कूलहरु पनि निजी स्कूलहरुभन्दा कम हुनु हुँदैन भन्दै नानीहरुको खेलकूदमा पनि ध्यान दिइने बताए। उनले यसपाली बाल दिवसको अवसरमा नोट क्यामको उत्कृष्ट कार्य गर्ने 13 वटै क्षेत्रका स्कूलहरुलाई जीटीए प्रमुख अनित थापाको बाहुलीबाट सम्मान जनाउने घोषणा गरे। उनले जीटीए क्षेत्रमा 50 वटा नयाँ प्राथमिक पाठशाला भवनहरु निर्माण गरिने र त्यसमा खरसाङ क्षेत्रका 11 वटा प्राथमिक पाठशालाहरु चिन्हित गरिएको जानकारी गराए।
हिन्दुस्थान समाचार / हनोक