सिलगढी, 11 सेप्टेम्बर (हि.स.)। बुकएन्ट पब्लिकेशन हाउसले आफ्नो नयाँ कार्यालयको उद्घाटन सिलगढ़ीको वीर जवान चोक, गुरुङ नगरस्थित भानुभक्त समिति भवनमा साहित्य, कला र सङ्गीतको रमाइलो सङ्गम बनेको भव्य समारोहमाझ सम्पन्न गर्यो। रङ्गारङ्ग अनुष्ठानमा कविता वाचन, सङ्गीत, लाइभ आर्ट कार्यशाला र आवरण लोकार्पण कार्यक्रमहरू समावेश थिए।
कार्यक्रममा दार्जिलिङ, सिक्किम, कालेबुङ, खरसाङ, मिरिक र सिलगढ़ी वरिपरिका प्रतिष्ठित लेखक, पाठक, बुद्धिजीवी, कलाकार र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। स्वागत मन्तव्य दिँदै बुकएन्ट पब्लिकेशन हाउस-का निर्देशक राजा पुनियानीले भने, “हामी यसै क्षेत्रबाट प्रकाशनको स्तरीय मापदण्ड स्थापित गर्ने प्रयास गर्दै आएका छौँ। स्थानीय लेखक र क्षेत्रीय आवाजलाई प्रवर्धन गरी यहाँका जनताको सपना र आकांक्षाहरू मुख्यधारामा प्रवाहित गराउनु हाम्रो मुख्य लक्ष्य हो।”
स्यालामेण्डर इम्प्रिन्ट्स-को आधिकारिक उद्घाटन डिजिटल्ली गरिएपछि द कर्ड-भारत-का निर्देशक राहुल सम्भवी सिन्हाले आफ्नो सम्बोधन राख्दै औपचारिक घोषणा गरे। स्यालामेण्डर इम्प्रिन्ट्स बुकएन्टको नयाँ इम्प्रिन्ट (शाखा) हो जसले शास्त्रीय साहित्य, दुर्लभ ग्रन्थ र गुणस्तरीय आधुनिक साहित्य प्रकाशन गर्ने योजना अघि ल्याएको छ।
त्यसपछि ख्यातिप्राप्त इतिहासकार डा. कुमार प्रधानको ऐतिहासिक ग्रन्थ “द गोर्खा कन्क्वेस्ट्स : द प्रोसेस एण्ड कन्जिक्वेन्सेस अफ द युनिफिकेसन अफ नेपाल विथ पर्टिकुलर रेफरेन्स अफ इस्टर्न नेपाल” र डा. प्रधानकै अर्को ऐतिहासिक ग्रन्थ “पहिलो पहर”-को आवरण डिजिटल्ली विमोचित गरियो।
त्यसै गरी, अर्को महत्वपूर्ण साहित्यिक घोषणा थियो “कुची कलम”, विख्यात् कलाकार र लेखक लैनसिंह बाङ्देलको लामो समयदेखि अप्रकाशित आत्मकथा-को आवरण विमोचन। यस पुस्तकलाई स्यालामेण्डर इम्प्रिन्ट्स र लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान, कलकत्ताको सहकार्यमा प्रकाशित गरिनेछ।
कार्यक्रमको अर्को भावपूर्ण अंश थियो सम्मान समारोह, जसमा भानुभक्त समितिका सचिव एवं समाजसेवी कृष्ण लामा, दार्जिलिङ जिल्ला पुस्तकालय अधिकारी अमृत सुब्बा, कञ्चनजङ्गा उद्धार केन्द्रकी सचिव रङ्गु सौरिया र द कर्ड-भारत-का निर्देशक राहुल सम्भवी सिन्हालाई नेपाली टोपी, खुकुरी, बिरुवा र सम्मानपत्रद्वारा सम्मानित गरियो।
अतिथि वक्ताका रूपमा अमृत सुब्बा, कृष्ण लामा, टेक्नो इन्डिया ग्रुपका एजीएम निर्माल्य आचार्जी र प्रा. डा. धनीराज छेत्रीले बुकएण्ट-को नयाँ सुरुवातका लागि शुभकामना व्यक्त गरे।
हिन्दुस्थान समाचार / हनोक