खरसाङमा आयोजित ‘द्वारे सरकार’ र ‘एपीएएस’ शिविरको श्रम विभागका अतिरिक्त सचिवद्वारा निरीक्षण
खरसाङमा आयोजित ‘द्वारे सरकार’ र ‘एपीएएस’ शिविरको श्रम विभागका अतिरिक्त सचिवद्वारा निरीक्षण


खरसाङ, 11 सेप्टेम्बर (हि.स.)। खरसाङ नगरपालिका अन्तर्गत नयाँ बजार सार्वजनिक भवनमा आयोजना गरिएको ‘द्वारे सरकार’ तथा ‘एपीएएस’ शिविरको निरीक्षण पश्चिम बङ्गाल सरकारका श्रम विभागका अतिरिक्त सचिव शाहन सेनले गरेका छन्। निरीक्षणका क्रममा उनले शिविरमा उपस्थित लाभार्थीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, आवश्यकताहरू तथा योजनासम्बन्धी जिज्ञासाहरू बुझेका थिए।

विशेष गरी वार्ड नम्बर १७ र १८ का आवेदकहरू, मतदान केन्द्र नम्बर २०६, २०७ र २०९ अन्तर्गतका मानिसहरुसँग उनले भेटेर विभिन्न विषयमा छलफल गरे। यस संवादको उद्देश्य स्थानीयहरुका समस्याहरू बुझेर लाभार्थीहरुलाई छिटो र पारदर्शी ढङ्गले सरकारी योजना उपलब्ध गराउनु रहेको थियो। कार्यक्रममा अन्य उच्च अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

सहभागी अधिकारीहरूमा प्रसेनजित चौधरी (डीएमडीसी, डब्ल्युबीसीएस), लादेन लेप्चा (डब्ल्युबीसीएस), खरसाङ नगरपालिकाका कार्यकारी अधिकारी कैलाश प्रसाद (डीएमडीसी, डब्ल्युबीसीएस) प्रमुख रूपमा रहेका थिए। साथै खरसाङ नगरपालिकाका अध्यक्ष ब्रिगेन गुरुङ, उपाध्यक्ष सुवास प्रधान तथा खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपक पनि उपस्थित रहेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande