खरसाङ नगरपालिका क्षेत्रमा पैह्रोले तीनवटा घरहरुलाई क्षति, क्षेत्रीय सभासद र नगरपालिकाद्वारा निरीक्षण भ्रमण
खरसाङ नगरपालिका क्षेत्रमा पैह्रोले तीनवटा घरहरुलाई क्षति


खरसाङ, 14 सेप्टेम्बर (हि.स.)। खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 7 को लोवर शेर्पा बस्तीको धोबी खोला क्षेत्रमा आज बिहान पैह्रोले तीनवटा घरहरुलाई क्षति गरेको छ। वार्ड नम्बर 7 को लोवर शेर्पा बस्तीको धोबी खोला क्षेत्रमा आज बिहान 9:15 बजीतिर रबि छेत्रीको घरबाट पैह्रो झरेर तलपट्टि रहेको घरको छतमा पुगेको बताइएको छ।

उक्त पैह्रोग्रस्त क्षेत्रको निरीक्षण क्षेत्रीय सभासद श्याम शेर्पा, खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधान, कार्यकारी अधिकारी कैलाश प्रसाद, एसएओ सत्य थापा, सोनाम लामा आदिले गरे। पैह्रोले तलपट्टिको घरलाई क्षतिग्रस्त बनाएको छ भने रबि छेत्रीको घरलाई पैह्रोले तान्ने अवस्थामा रहेको खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधानले जानकारी गराएका छन्।‌ पैह्रोले यस वार्डमा तीनवटा घरलाई क्षति पुऱ्याएको उनले बताए।

घटनाको बारेमा जीटीए प्रमुख अनित थापा र खरसाङ महकुमा शासकलाई जानकारी गराइएको छ। पैह्रोमा झुण्डिएको अवस्थामा रहेको रवि छेत्रीको घरका परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ।

उक्त पैह्रोग्रस्त क्षेत्रको निरीक्षण भ्रमण गरेपछि सभासद श्याम शेर्पाले खरसाङ नगरपालिकाको टिमसॅंग संयुक्तरूपमा वार्ड नम्बर 7 को लोवर शेर्पा बस्ती अन्तर्गत धोबी खोला क्षेत्रमा गएको पैह्रो निरीक्षण गरेको बताए। उनले कुनै ठाउँमा पैह्रो गएपछि सर्वप्रथम सम्बन्धित विभागमा जानकारी गराउन स्थानीयहरुलाई अपील गरे। उनले पैह्रो गएको भिडियो फेसबुकमा हाल्नु अघि सम्बन्धित विभागमा जानकारी दिए सम्बन्धित विभागका पदाधिकारीहरुले तत्कालै आएर काम गर्नेछन् भनी बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande