महानदी क्षेत्रीय दमाई समाजको 30 औं स्थापना दिवस सम्पन्न
Damai samaj foundation day


खरसाङ, 16 सेप्टेम्बर (हि.स.)। तीनधारे महानदी समष्टिको घुम्ती चियाबारीस्थित आदर्श कल्याण केन्द्रमा महानदी क्षेत्रीय दमाई समाजको 30 औं स्थापना दिवस पालन गरियो। उक्त कार्यक्रमको समाजका सभापति सुमन कार्कीढोलीको सभापतित्वमा सम्पन्न स्थापना दिवस कार्यक्रममा प्रमुख अतिथिको रूपमा खरसाङ दमाई समाजका सभापति प्रकाश सेवा साथै सचिव दिपेन सेवा विशेष रूपमा उपस्थित रहेका थिए।

यस कार्यक्रममा सभाध्यक्ष अनि प्रमुख अतिथिको बाहुलीबाट अनुसूचित जातिका रक्षक भारतका संविधान लेखक बाबा साहेब डा भीमराव अम्बेडकरको तस्वीरमा धुपदीप प्रज्वलन र माल्यार्पण गरेर कार्यक्रम शुरू गरियो। कार्यक्रममा समाजका 70 वर्ष माथिका वृध्द वृद्धाहरूलाई दोसल्ला ओडाएर कदर पत्र प्रदान गरेर सम्मान जनाइयो।

त्यसरी नै उच्च शिक्षा हासिल गर्ने जस्तै एमटेक, बीबीए, नर्सिङमा मास्टर्स गरेका अनि उच्च माध्यमिक अनि माध्यमिक परीक्षा, आईसीसी उत्तीर्ण भएका नानीहरूलाई सम्बर्द्धना अनि मायाको चिनो प्रदान गरेर सम्मान जनाइयो।

यस कार्यक्रममा समाज 30 वर्ष पुगेको अवसरमा समाजका वृध्द 91 वर्ष पुगेका पदमबहादुर दर्नालको बाहुलीबाट केक काटियो। यस कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रममा नानीहरूले गीत, नृत्य, कविता आदि प्रस्तुत गरेका थिए।

यस कार्यक्रममा महानदी क्षेत्रभरिका सिविटार, महानदी, ढुंग्रेकोठी, तिरसठ लाइन, घुम्ती चिया कमानका दमाई समुदायका सदस्य सदस्यहरू उपस्थित रहेका थिए।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande