इम्फाल, 04 सेप्टेम्बर (हि.स.)। मणिपुर पुलिस औ सुरक्षा बलहरूले राज्यका विभिन्न भागहरूमा संयुक्त अभियान संचालन गरी ठूलो सफलता हासिल गरेका छन्। बितेको 24 घण्टामा भएको कारबाहीमा प्रचुर मात्रामा हतियार, गोला-बारूद, विस्फोटक एवं नशालु पदार्थहरू जफत गरिएको छ भने उग्रवादी क्याडर र तस्करहरूलाई पनि पक्राउ गरिएको छ।
इम्फाल ईस्ट जिल्लाको हेंगांग क्षेत्रबाट पुलिसले एउटा एके-56 राइफल, एउटा एम-16 राइफल, तीन वटा ह्याण्ड ग्रेनेड, पाँच वटा ट्यूब लन्चर, दुई वटा प्लेट्स सहित एउटा बुलेटप्रूफ ज्याकेट, एउटा आरपीजी शेल औ विभिन्न क्यालिबरका गोलीहरू जफत गऱ्यो।
बिष्णुपुर जिल्लाको फौगकचाओ एकाई औ कोलबुंग गाउँबाट एउटा इंसास राइफल, एउटा डबल ब्यारल बन्दुक, दुई वटा सिंगल ब्यारल बन्दूक, एउटा देशी पेस्तोल, जीवित कारतूस, जिलेटिन स्टिक, डेटोनेटर तथा कार्डेक्स वायर जफत गरियो।
इम्फाल ईस्ट जिल्लामा आरपीएफ/पीएलएका सक्रिय क्याडर कोंजेंगबम अजीत सिंह उपनाम सुरेश (54)-लाई पक्राउ गरियो भने उसको कब्जाबाट आधार कार्ड र नगद जफत गरियो। यस अतिरिक्त केसीपी (पीडब्ल्यूजी)-सित आवद्ध कन्गब्राइलटपम हेमाबती देवी उपनाम खोमई (57)-लाई इम्फाल वेस्टबाट पक्राउ गरियो जो रंगदारी र अवैध असुलीमा संलिप्त थिइन्। उसको कब्जाबाट एउटा स्कुटी, दुई वटा मोबाइल फोन र आधार कार्ड जफत गरियो।
यसरी नै सेनापति जिल्लाको तदुबी चेकपोस्टमा सुरक्षा बलहरूले पाँच जना मानिसहरूलाई पक्राउ गरे जसको कब्जाबाट 2.057 किलो ब्राउन शुगर, दुई वटा वाहन र आठ वटा मोबाइल फोन जफत गरियो। जाँच गर्ने क्रममा कांगपोकपी निवासी किमनेलाम हाउकिपलाई पनि हिरासतमा लिइयो जसलाई तस्करीमा सामेल रहेको पाइयो।
चुराचाँदपुर जिल्लाको लामजंग क्षेत्रबाट चारजना मानिसहरूलाई पक्राउ गरियो जसबाट 1.5 किलो ब्राउन शुगर जसलाई 122 वटा साबुनका डब्बाहरूमा प्याक गरिएको थियो, एउटा अल्टो कार, एउटा दुई चक्के वाहन र पाँच वटा मोबाइल फोन जफत गरियो।
अधिकारीहरूले बताए, यी समन्वित अभियानबाट राज्यमा हतियारहरूको अवैध ओसार-पोसार तथा मादक पदार्थहरूको तस्करी नेटवर्कलाई ठूलो झट्का लागेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा