गान्तोक, 05 सेप्टेम्बर (हि.स.)। तुलसीराम शर्मा 'कश्यप' प्रतिष्ठान सिक्किमद्वारा हरेक वर्ष प्रदान गरिने तुलसी 'कश्यप' स्मृति पुरस्कार २०२६ का निम्ति लेखकहरूबाट साहित्यिक पुस्तकहरूको आह्वान गरिएको छ। भारतीय साहित्यकारका पुस्तक जो सन् २०२२, २०२३ र २०२४ भित्र प्रथम संस्करण प्रकाशित भएका छन्, ती पुस्तक प्रतिष्ठानलाई चयनार्थ पठाउनका निम्ति तुलसीराम शर्मा 'कश्यप' प्रतिष्ठान सिक्किम, भारतभरिका सबै साहित्यकारहरूलाई हार्दिक अनुरोध गरिएको छ।
तुलसी 'कश्यप' स्मृति पुरस्कारमा नगद रू ५१०००/- (एकाउन्न हजार), प्रशस्ति पत्र र स्मृति चिन्ह समावेश रहनेछन्। चयनार्थ पठाइने पुस्तक साहित्यका कुनै पनि विधाका हुन सक्नेछन्। एकजना लेखकको एउटामात्र पुस्तकका चार प्रति निम्नलिखित ठेगाना श्रीमती हिरालता शर्मा, कश्यप सदन, कन्या पाठशाला मार्ग, गान्तोक, सिक्किम, 737101 मा आगामी ३१ अक्टोबर, २०२५ सम्ममा आइपुग्ने गरि पठाइदिनुहुन सबै साहित्यकार महानुभावलाई हार्दिक आग्रह गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल