गान्तोक, 05 सेप्टेम्बर (हि.स.)। सिक्किमको मङ्गन जिल्ला अन्तर्गत मङ्गन पीएम श्री सरकारी उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक कर्म टेम्पो इथेन्पा राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित बनेका छन्। राष्ट्रिय शिक्षक दिवसको अवसरमा आज देशकी राष्ट्रपति द्रौपदी मुर्मुको बाहुलीद्वारा प्रधानाध्यापक इथेन्पालाई सम्मानित गरियो।
मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रधानाध्यापक कर्म टेम्पो इथेन्पा राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित बनेकोमा खुशी व्यक्त गर्दै यो क्षण पुरस्कार प्रापकको लागि मात्र नभएर सम्पूर्ण राज्यकै निम्ति ठूलो सम्मानको क्षण रहेको बताएका छन्। उनले प्रधानाध्यापक इथेन्पा लगायत पीएम श्री सरकारी उच्चतर माध्यमिक विद्यालय, मङ्गनका शिक्षकगण र विद्यार्थीहरू, राज्यका सम्पूर्ण शिक्षकगण र शिक्षा विभागलाई यस उल्लेखनीय उपलब्धीको लागि हार्दिक बधाई दिएका छन्।
मुख्यमन्त्रीले आज राज्य शिक्षक पुरस्कारले सम्मानित बनेका 13 जना शिक्षकहरूलाई पनि बधाई दिएका छन्। उनले सबै शिक्षकहरूलाई निरन्तर समर्पण र सेवाको लागि शुभकामना व्यक्त गरेका छन्। यसैगरी, मुख्यमन्त्रीले शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदानको लागि प्रशंसापत्र प्राप्त गर्ने 24 जना शिक्षकलाई पनि बधाई एवं शुभकामना दिएका छन्।
मुख्यमन्त्रीले शिक्षकहरूको प्रतिबद्धता, समर्पण, त्याग र सेवाले आधिकारिक रूपमा मान्यता पाएकोमा अपार खुशी व्यक्त गरेका छन्। उनले यी सम्मानहरू केवल व्यक्तिगत उपलब्धिहरू मात्र होइनन्, तर राज्यभरिका सबै शिक्षकहरू र विद्यालयहरूको लागि गर्वका स्रोत हुन् भनी उल्लेख गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल