मगरजोङ चियाबारी आजदेखि सञ्चालनमा
मगरजोङ चियाबारी आजदेखि सञ्चालनमा


मिरिक, 05 सेप्टेम्बर (हि.स.)। दुई वर्षको बन्दीपछि मगरजोङ चियाबारी आजदेखि पुनः सञ्चालनमा आएको छ। मगरजोङ चियाबारी 28 सेप्टेम्बर, 2023 मा 20 प्रतिशत बोनस मागको क्रममा बन्द भएको थियो।

2 वर्षसम्म मगरजोङ चियाबारीका श्रमिकवर्गले विभिन्न दु:ख अनि असुविधाहरु सामना गरे। अन्ततः गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अनि विभिन्न श्रमिक संगठनहरुको प्रयासले आजबाट नागरी टीई कम्पनीमार्फत पुनः सञ्चालनमा आएको छ। चियाबारीमा सिद्दार्थ सुब्बा प्रमुख प्रबन्धकको पदमा नियुक्त भएका छन्।

श्रमिक अनि कर्मचारीवर्गलाई आगामी 20 सेप्टेम्बरभित्रमा 2022 को 19 प्रतिशत गरेर जम्म 58 लाख रुपियाँ बोनस प्रदान गरिने भएको छ भने प्रोभिडेन्ट फण्ड, ग्रेच्युटी, रिटाइरमेन्ट, पेन्सन पनि चॉंडै समाधान गरिने बताइएको छ। ड्राई सिजन तथा पत्ती नभएको समय चियाबारी सञ्चालन गर्ने मालिक पाएको कारण चियाबारी लामो समयको निम्ति चल्ने संकेत पाएको स्थानीयहरुले जनाएका छन्।

आज पहिलो दिन श्रमिकवर्ग, कर्मचारीवर्ग, क्षेत्रीय सभासद, ग्राम पञ्चायत उप प्रधान, सदस्यवर्ग, श्रमिक संगठनहरुको उपस्थितिबीच चियाबारीको कारखानामा सभा सम्पन्न भयो। सभापछि कारखाना प्रमुखद्वारामा पुजा अर्चनासहित मूलद्वार खोल्ने कार्य सम्पन्न गरियो।

शुरुमा श्रमिक अनि सम्पूर्ण कर्मचारीहरु मिलेर कारखाना परिसरमा साफसफाई गरेका थिए भने कतिपय श्रमिकहरुले औपचारिक रुपमा पत्ती टिपेर चियाबारीलाई सञ्चालन गर्ने कार्य शुरु गरे। अब उपरान्त यस प्रकारको घटना मगरजोङ चियाबारीमा नदोहोरिने श्रमिक अनि कर्मचारीवर्गले अपेक्षा साँचेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande