गान्तोक, 05 सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमका प्रवक्ता पासाङ ग्याली शेर्पाले प्रवक्ताको पदबाट राजीनामा दिएका छन्। शेर्पाले शुक्रवार प्रदेश अध्यक्ष डीआर थापा र केन्द्रिय नेतृत्वहरूलाई प्रेषित गरेको आफ्नो राजीनामा पत्रमा तत्काल प्रभावका साथ पार्टीको प्रवक्ता पदबाट राजीनामा दिइरहेको कुरा उल्लेख गरेका छन्।
पासाङ ग्याली शेर्पाले पार्टीको प्रवक्ता पदबाट राजीनामा दिनुका कारणहरूमाथि प्रकाश पार्दै राज्य नेतृत्वको निरन्तर अनिर्णयताका कारण भाजपा सिक्किमको विश्वसनीयतालाई कमजोर बनाएको आरोप लगाएका छन्। उनले बारम्बार मिश्रित र विरोधाभासी संकेतहरूले कार्यकर्ताहरूलाई अलमल्लमा पारेको, जनतालाई भ्रमित गरेको र आत्मविश्वास गुमेको पनि उल्लेख गरेका छन्।
उनले भाजपा सिक्किम सरकारमा गठबन्धन साझेदार हो अथवा विपक्षी पार्टी हो भनेर परिभाषित गर्न नसक्नु सबैभन्दा घातक कुरा रहेको जनाएका छन्। उनले अनुतरित प्रश्नहरूले सन्देश प्रवाहलाई अपाङ्ग बनाएको, पहिचान धमिलो पारेको र प्रवक्ताको भूमिकालाई अस्थिर बनाएको बताएका छन्।
शेर्पाले भाजपा केन्द्रिय नेतृत्वहरूलाई सिक्किम एकाईको नेतृत्वको मूल्याङ्कनको लागि हस्तक्षेप गर्न अपील गरेका छन्। उनले दिल्लीको निर्णायक मार्गदर्शन बिना भाजपा सिक्किमका कार्यकर्ताहरू टाडा बन्दै जाने जोखिम बढ्नेछ भने जनताको विश्वास पनि गुमाउने कुरा उल्लेख गरेका छन्।
उल्लेखनीय छ, पासाङ ग्याली शेर्पा 2024 को विधानसभा चुनाउमा तुमिन लिङ्गी निर्वाचन क्षेत्रबाट भाजपा उम्मेदवार थिए।
हिन्दुस्थान समाचार / बिशाल