एसडीएफ कार्यकर्ताहरूले गरे लोअर बोरोङ गाउँको भ्रमण
एसडीएफ कार्यकर्ताहरूले गरे लोअर बोरोङ गाउँको भ्रमण


गान्तोक, 05 सेप्टेम्बर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीको दक्षिण सिक्किम जिल्ला कार्यकरणी समितिको टाेली जिल्ला अध्यक्ष रमेश किराँतको अगुवाइमा आज सामाजिक भ्रमण तथा भेटघाट कार्यक्रम दर्गै बरफुङ समष्टि अन्तर्गत लोअर बोरोङ गाउँको भ्रमण गऱ्यो। गाउँका बासिन्दाहरूले भेटघाटको क्रममा आफ्नो गुनासो पार्टीका प्रतिनिधिहरूसामु राख्दै गाउँतर्फ जाने सडक वर्षौंदेखि जिर्ण अवस्थामा रहेको कारणले दैनिक जीवनयापनमा निकै समस्या भोग्नुपरेको जानकारी गराए।

विशेषगरी, बिरामीलाई समयमै अस्पताल पुऱ्याउन ठूलो कठिनाई हुने, बारम्बार सरकार समक्ष मागपत्र पेस गर्दा पनि अहिलेसम्म कुनै काम नभएको, हिउँद महिना शुरु भएपछि प्राकृतिक तातोपानी कुवा प्रयोग गरी स्वास्थ्योपचार गर्न टाडा–टाडाबाट मानिसहरू आउने भएकाले सडकको कार्पेटिङ जतिसक्दो छिटो हुनुपर्ने मुख्य समस्या तथा अपेक्षाहरू गाउँलेहरूले व्यक्त गरेको एसडीएफले प्रेस विज्ञप्तिमा बताएको छ।

गाउँलेहरूको भनाइअनुसार, यदि सडकको स्तरोन्नति छिट्टै सम्पन्न भएमा लोअर बोरोङ गाउँमा घरेलु पर्यटन व्यवसाय पनि फस्टाउने छ। लोअर बोरोङको लामो समयदेखि थाँतीमा रहेको सडक मर्मत तथा कार्पेटिङ कार्यलाई शीघ्र सम्पन्न गर्न एसडीएफ पार्टीले सिक्किम सरकार र सम्बन्धित सडक विभागको ध्यानाकर्षण गराएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande