गान्तोक, 05 सेप्टेम्बर (हि.स.)। राष्ट्रिय शिक्षक दिवसको अवसरमा आज राजधानीको मनन केन्द्रमा राज्यस्तरीय शिक्षक दिवस समारोह भव्यताका साथ पालन गरियो। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ अतिथि थिए। मुख्यमन्त्रीको साथमा उनकी धर्मपत्नी कृष्ण राई, शिक्षा मन्त्री राजु बस्नेत, मन्त्रीगण, विधायकगण आदि पनि उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मुख्यमन्त्री तामाङले देशका पूर्व राष्ट्रपति एवं प्रतिष्ठित दार्शनिक डा. सर्वपल्ली राधाकृष्णनप्रति श्रद्धाञ्जली अर्पित गरे। उनले युवाहरूलाई आकार दिन र राज्यको बौद्धिक विकासलाई पोषण गर्नमा शिक्षकहरूको अमूल्य भूमिकाको सराहना गर्दै शिक्षक समुदायमा हार्दिक शुभकामना व्यक्त गरे।
मुख्यमन्त्रीले सिक्किममा शिक्षाको इतिहासमाथि प्रकाश पार्दै यस यात्रामा शिक्षकहरूले दिएका योगदानको सम्झाना गरे। उनले राष्ट्रिय पुरस्कारले सम्मानित बनेका शिक्षक कर्म टेन्पो इथन्पा लगायत आज सम्मानित बनेका शिक्षकहरूलाई बधाई दिए। आफ्नो शिक्षण यात्रामाथि प्रकाश पार्दै मुख्यमन्त्रीले शिक्षकहरूको महत्व र भूमिका रेखांकित गरे।
आफ्नो सम्बोधनको क्रममा मुख्यमन्त्रीले शिक्षाको क्षेत्रमा राज्य सरकारका पहलहरू र उपलब्धीहरूमाथि प्रकाश पारे। उनले सिक्किमलाई शिक्षाको केन्द्र बनाउने आफ्नो भिजन साझा गरे। उनले राज्यमा शिक्षा क्षेत्रलाई सुदृढ बनाउन गरिएका पहलहरूको बारेमा जानकारी गराए।
शिक्षा मन्त्री बस्नेतले आफ्नो सम्बोधनमा देशका साना राज्यहरूमा उत्कृष्ट कार्य सम्पादन गर्ने मुख्यमन्त्री बनेकोमा मुख्यमन्त्री तामाङलाई बधाई दिए। उनले शिक्षा व्यवस्थापन एवं अनुगमन सूचना प्रणाली सफलतापूर्वक लागू गरेकोमा शिक्षा विभागको सराहना गर्दै प्रशंसनीय विद्यार्थी उत्तीर्ण दर हासिल गरेकोमा शिक्षकहरूको प्रशंसा गरे। उनले शिक्षणमा विद्यार्थी केन्द्रित दृष्टिकोण अपनाउन आह्वान गरे।
कार्यक्रमलाई एसटीएका अध्यक्ष कुन्जाङ शेर्पाले पनि सम्बोधन गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल