
आसनसोल, 05 जनवरी (हि. स.)। आसनसोल बर्नपुर टाउनशिपका बासिन्दाहरूले सोमवार सेल आईएसपीद्वारा संचालित बर्नपुर गर्ल्स हाई स्कूल तथा बर्नपुर ब्वोइज हाई स्कूल समक्ष विरोध प्रदर्शन गरे।
वार्ड संख्या- 78 का पार्षद अशोक रुद्रले भने, सेल आईएसपीले बर्नपुर टाउनशिपमा पाँच वटा स्कूलहरू संचालन गर्दै आइरहेको छ। यी स्कूलहरूमा टाउनशिपमा कार्यरत तल्लो स्तरका श्रमिक, गृह कार्य गर्ने महिला तथा दैनन्दिन मजदुर, सब्जीवाला आदिका छोरा-छोरीहरू पढद्छन् जसको वार्षिक फिस 80-देखि 150 रुपियाँ थियो। केही दिनअघि सेल आईएसपीद्वारा यी स्कूलहरूलाई निजीकरण गर्नको लागि टेण्डर निकालिएको थियो, तर स्थानीय मानिसहरू र अभिभावकहरूले विरोध प्रदर्शन गरेका कारणले प्रबन्धनलाई पछि हट्न परेको थियो।
पार्षद रूद्रले भने, तर आईएसपी प्रबन्धन आफ्नो कृत्य गर्नदेखि थाकेका छैनन्। स्कूल प्रबन्धनले नयाँ विद्यार्थीहरूको प्रवेश लिनै बन्द गरिदिएका छन्।
जबकि प्रत्येक वर्ष कक्षा एक, कक्षा पाँच तथा कक्षा आठमा नयाँ विद्यार्थीहरूको प्रवेश हुँदै आएको थियो। यसपालि यो प्रवेशलाई बन्द गरिदिएको कारणले यस क्षेत्रका अभिभावकहरू रूष्ट भएका छन्।
अभिभावकहरूले बर्नपुर गर्ल्स स्कूल तथा बर्नपुर ब्वोइज स्कूल समक्ष विरोध प्रदर्शन गरे तथा स्कूल प्रबन्धनसित बातचित गर्ने प्रयास गरे। स्थानीय पार्षद अशोक रूद्रले बर्नपुर ब्वोइज हाई स्कूलका प्राचार्यसित बातचित गरी आफ्नो माग पत्र सुम्पिए। प्राचार्यले उनीहरूको कुरालाई आईएसपी प्रबन्धनसम्म पुऱ्याउने आश्वासन दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा