
कोलकाता, 05 जनवरी (हि. स.)। कोलकाताको पार्क सर्कस क्षेत्रमा सोमवार सबेरै एक अत्यन्त दुःखदायी घटना भयो। एउटा पुरानो तथा जीर्ण बनिसकेको भवनको छत झरेर एक जना 61 वर्षीय वृद्धाको मृत्यु भयो भने एक जना बालिका सहित तीन जना मानिसहरू घाइते भए। सबै घाइतेहरूको उपचार निकटवर्ती नेशनल मेडिकल कलेज एवं अस्पतालमा भइरहेको छ।
यो दुर्घटना पार्क सर्कस लोहापुल क्षेत्रको 65 नम्बर वार्ड अन्तर्गत शमसुल हुदा रोडस्थित 46/एच/ई संख्या भएको एउटा पुरानो तीन तले भवनमा सोमवार भोर बिहान लगभग 3 बजी भएको हो। मृतका राबिया खातून आफ्नो परिवारसित भवनको पहिलो तलामा बस्दै आएकी थिइन्। राति परिवारका सबै सदस्यहरू गहिरो निन्दमा डुबेका थिए, यसैबेला अचानक भवनको छत भत्केर तल झऱ्यो। यस घटनामा परिवारका लगभग सबै सदस्यहरू घाइते भए जसलाई तुरून्तै नेशनल मेडिकल कलेजमा लगियो जहाँ चिकित्सकहरूले राबिया खातूनलाई मृत घोषित गरिदिेए। उनको टाउकोमा गम्भीर चोट लागेको थियो। यसरी नै नौ वर्षीय आयेशा खातून, उमर उपनाम दानिश आलम (16) तथा वाहिद अब्दुल (55)-लाई घाइते अवस्थामा अस्पतालमा भर्ती गरियो। चिकित्सकहरू अनुसार आयेशालाई सामान्य चोट लागेको छ।
दुर्घटना भएको सूचना पाउनसाथ बिहान स्थानीय तृणमूल कंग्रेसका पार्षद घटनास्थलमा पुगे। उनले बताए, भवन अत्यन्त जर्जर र असुरक्षित स्थितिमा थियो। भवन मालिकलाई पहिला नै मरम्मत गर्नको लागि सचेत गरिएको थियो, तर यस दिशामा कुनै कदम उठाइएन। पार्षद अनुसार भवनको उपेक्षा र लापरवाहीको कारणले यो भयानक दुर्घटना भएको हो।
स्थानीय मानिसहरूले पनि भवन मालिकले लापरवाही गरेको आरोप लगाउँदै प्रशासनसित कोलकाताका पुराना र असुरक्षित भवनहरको शीघ्र जाँच गरी आवश्यक कारबाही गर्ने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा