
खरसाङ, 05 जनवरी (हि.स.)। चिया श्रमिकहरूको समस्याहरूमाथि सोमबार इण्डियन गोर्खा जनशक्ति फ्रण्टको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स श्रमिक संघको सभा शिवखोलाको सार्वजनिक भवनमा सम्पन्न भयो। सभामा पार्टीको केन्द्रिय संयोजक अजय एडवर्ड्स विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै पार्टी केन्द्रीय कार्यकारिणी सदस्य एनबी खवास लगायत पार्टीको अन्य शीर्ष नेतृत्वहरूको उपस्थिति रहेको थियो।
तीन घण्टाभन्दा लामो समयसम्म चलेको सभामा पहाड तराई डुवर्स आदि क्षेत्रहरूमा कार्यरत चिया श्रमिकहरूले भोग्दै आएको समस्याहरूमाथि गहन चर्चा भयो। श्रमिकहरूको हक र अधिकारीको पक्षमा उचित कदम उठाउने सभामा चर्चा भयो।
स्मरण रहोस्, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले आफ्नो गठनकालदेखि चिया बगानहरूमा मिनिमम वेजेस लागू गर्नु पर्ने, चिया श्रमिकहरूको घर साथै आफ्नो अधिनमा रहेको जमीनहरूको पर्जापट्टा उनीहरूकै नाममा हुनुपर्छ भन्ने आदि जस्ता मागहरू उठाउँदै आएको दाबी गरेको छ।
---------------
हिन्दुस्थान समाचार / हनोक