पत्रकार हेमन्त गिरीमाथि लेखिएको पुस्तक सार्वजनिक
Book release


गान्तोक, 06 जनवरी (हि.स.)। सिक्किममा पत्रकारिता र कलाको क्षेत्रमा अमूल्य योगदान पुऱ्याएका पत्रकार एवम् कलाकार हेमन्त गिरीका कालजयी कर्महरूलाई समेटेर प्रकाशित गरिएको पुस्तक “स्मृतिमा जीवित हेमन्त गिरी”-को हिजो 5 जनवरी 2026-का दिन गान्तोकमा लोकार्पण भयो।

एक वर्षअघि मात्र पत्रकार हेन्त गिरीको निधन भएको हो। उनी प्रेस क्लब अफ् सिक्किमका पहिलो निर्वाचित उपाध्यक्ष हुन्, जसले सन् 2008-मा प्रेस क्लब अफ् सिक्किममा पत्रकार कल्याण कोषको स्थापना गर्नमा उल्लेखनीय योगदान दिएका थिए। पत्रकार गिरी नाट्य क्षेत्रका एक कुशल कलाकार एवम् निर्देशक भएकाले उनकै परिकल्पनाअनुसार प्रेस क्लब अफ् सिक्किमले 2008-मा नाट्यभूषण सीके श्रेष्ठद्वारा लिखित सामाजिक व्यङ्ग्य नाटक “अन्धाहरूको रामकहानी” मञ्चन गरेको थियो। गान्तोकमा उक्त नाटक दुई दिन भीडका साथ चल्यो। यस नाटकमा पत्रकारहरूले नै त्यसमा अभिनय गरेका थिए। दुई दिन चलेको नाटकबाट उठेको रकम क्लबले पत्रकार कल्याण कोष गठन गरेर राख्यो। त्यसपछि पत्रकारहरूलाई आपद-विपद पर्दा क्लबले त्यस कोषबाट सहयोग दिने परम्परा आरम्भ गऱ्यो। उनको त्यो योगदानलाई पत्रकार समाजले अवश्य पनि भुल्ने छैन।

हिजो हेमन्त गिरीमाथि लेखिएको पुस्तकलाई यसका सम्पादक जीवन कटुवालको पहलमा गान्तोकका प्रसिद्ध गुरूजी सूर्यवीर तुलाधरको विशेष उपस्थितिमा सार्वजनिकरण गरियो। यस पुस्तकको प्रकाशन गर्ने जिम्मेवारी समाजसेवी डीआर नेपालले लिएका हुन्। कार्यक्रममा उनीसँगै वरिष्ठ नाटककार एवम् साहित्यकार चुनिलाल घिमिरे, साहित्यकार प्रद्युम्न श्रेष्ठ, कवि एवम् कलाकार अमर बानियाँ लोहोरो र प्रेस क्लबको प्रतिनिधित्त्व गर्दै अध्यक्ष भीम राउत र साहित्य सचिव सुकराज एरोन राईको उपस्थिति रहेको थियो। पुस्तकमा डा. पारसमणि दङ्गालको भूमिका र प्रकाशक डीआर नेपालको प्रकाशकीयसहित 23 जनाको लेख समेटिएको छ। सिक्किमका एक इमानदार पत्रकार एवम् कलाकार गिरीको स्मृतिमा यसरी पुस्तकको प्रकाशन र सम्पादनको जिम्मेवारी लिँदै समाजलाई अर्पण गर्ने समाजसेवी डीआर नेपाल र पत्रकार जीवन कटुवालप्रति प्रेस क्लब अफ् सिक्किमले आभार व्यक्त गरेको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande