
गान्तोक, 06 जनवरी (हि.स.)। दक्षिण सिक्किमको प्रसिद्ध पर्यटक गन्तव्य तारे भिर छेउबाट एउटी युवतीको शव फेला परेको घटनाले हलचल मचिएको छ। मृतक युवतीको पहिचान मीना राईको रूपमा भएको छ। 23 वर्षीय मृतक बुल, सिङताम निवासी थिइन्। अर्कातिर, पुलिसले यस घटनाको सम्बन्धमा एक युवकलाई पक्राउ गरेको छ।
पुलिस प्रशासनद्वारा आज जारी गरिएको दैनिक स्थिति रिपोर्ट (डीएसआर) का अनुसार, मल्ली पुलिस थानामा 5 जनवरीका दिन नाम्ची पुलिस थानाबाट जिरो एफआईआर प्राप्त भएको थियो। उक्त एफआईआरमा बुल, सिङतामकी एक महिलाले 4 जनवरीका दिन आफ्नी 23 वर्षीय बहिनी मीना राई 31 दिसम्बर, 2025 देखि बेपत्ता रहेको उल्लेख गरेकी थिइन्।
एफआईआरको आधारमा नाम्ची पुलिसले गरेको सोधपुछका क्रममा 31 दिसम्बरका दिन मीना राईले बूमटार, नाम्ची निवासी संजय राईलाई भेटेको र उनीसॅंगै बस्दै आएको कुरा थाहा लाग्यो। यसैगरी, नयॉं साल 1 जनवरीका दिन उनीद्वय पश्चिम सिक्किमको यात्रामा गएको र पश्चिम सिक्किमबाट फर्किएपछि तारे भिर, सदाम पुगेको कुरा अघि आयो।
सोधपुछका क्रममा संजय राईले उनीद्वय 2 जनवरी सॉंझ चार बजीसम्म तारे भिरको हावाघर/चाउतारामा बसेको जानकारी गराए। त्यसपछि, मीनालाई तारे भिरमा छाड़ेर उनी एक्लै घर फर्किएको र उनीहरूबीच कुनै सम्पर्क पनि नभएको उनले पुलिसलाई बयान दिएका छन्।
संजय राईले दिएको बयानको आधारमा मल्ली र सदामका पुलिसकर्मीहरूको एक दल तारे भिर पुग्यो र त्यहॉं खोज तलास शुरू गऱ्यो। यस क्रममा पुलिस दलले हावाघर/चाउतारोदेखि लगभग 864 मिटर टाड़ा मीना राईको शव फेला पाऱ्यो। पुलिसले मीना राईको हत्या भएको हुन सक्ने र यस हत्याकाण्डमा संजय राईको हात हुन सक्ने आशंकामा उनलाई पक्राउ गरेको छ।
जॉंच रिपोर्टको आधारमा जिरो रिपोर्टलाई रेगुलर एफआईआरमा परिणत गरेर मल्ली पुलिसले आरोपी विरुद्ध बीएनएस 2023 को धारा 103/238 अन्तर्गत मामिला दर्ता गरेको छ। यस घटनाको सम्बन्धमा पुलिसको जॉंच जारी रहेको डीएसआरमा बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल