अन्य राजनीतिक दलहरूले भाजपासित डील गरेका छन्ः अभिषेक ब्यानर्जी
अन्य राजनीतिक दलहरूले भाजपासित डील गरेका छन्ः अभिषेक ब्यानर्जी


मालदा, 08 जनवरी (हि.स.)। तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव एवं लोकसभा सांसद अभिषेक ब्यानर्जीले बिहीवार मालदाबाट ठूलो राजनीतिक बयान दिँदै आरोप लगाए, अन्य राजनीतिक दलहरूले भाजपासित ‘डील’ गरेका छन्। साथै उनले परोक्ष रूपमा निलम्बित तृणमूल विधायक हुमायुँ कबीरको ‘बाबरी मस्जिद’ निर्माण प्रकरणमाथि चर्को हमला गर्दै साम्प्रदायिक सौहार्दको सन्देश दिए।

पुरातन मालदा थाना अन्तर्गत मंगलबाड़ी ग्राम पञ्चायतको जालांगीमा आयोजित सभामा अभिषेक ब्यानर्जीले भने, पश्चिम बंगालका प्रवासी श्रमिकहरूलाई अब कामको लागि अन्य राज्यहरूमा जाने आवश्यकता छैन। उनले भरोसा दिलाए, राज्यमै रोजगारको अवसर बढ़ाइनेछ।

सभामा प्रवासी श्रमिकहरूको समस्या सुन्दै उनले केन्द्र सरकार तथा भाजपामाथि प्रहार गरे। तृणमूलको आरोप छ, अन्य राज्यहरूमा बंगाली भाषा बोलेकै कारणले प्रवासी श्रमिकहरूलाई ‘बंगलादेशी’ बताउँदै प्रताड़ित गरिँदैछ। अभिषेकले भने, यदि कुनै प्रवासी श्रमिकलाई यसरी नै लक्षित गरियो भने कानूनी सहयोग दिइनेछ।

मुर्शिदाबादको भरतपुरबाट विधायक हुमायुँ कबीरद्वारा ‘बाबरी मस्जिद’ निर्माण गर्ने घोषणा गरिएपछि उनलाई तृणमूल कंग्रेसले पार्टीबाट निलम्बन गरिदिएको थियो। यस मुद्दामा नाम उच्चारण नगरी अभिषेकले भने, “जुन नेता पहिला भाजपाका उम्मेद्वार थिए आज उसैले धर्मको नाममा मानिसहरूलाई विभाजन गर्ने कोशिष गरिरहेको छ। धर्मको नाममा राजनीति गरेर केही मानिसहरूले बीचबाट पैसा कमाउन चाहन्छ। गरीबहरूलाई मद्दत गर्नुहोस्, यही कुरा कुरानले सिकाउँछ।”

‘एक डाके अभिषेक’ हेल्पलाइनको विस्तार-

अभिषेक ब्यानर्जीले मालदाका प्रवासी श्रमिकहरूको लागि ‘एक डाके अभिषेक’ हेल्पलाइन शुरू गर्ने घोषणा गरे। यो हेल्पलाइन पहिलाबाटै उनको संसदीय क्षेत्र डायमण्ड हार्बरमा सक्रिय छ। उनले भने, मालदामा पनि मेरो परिवारको ठूलो भाग छ। कुनै पनि प्रवासी श्रमिकलाई यदि बांग्लादेशी भनेर सताउँछ भने तृणमूलले कानूनी सहायता दिनेछ।

अभिषेकले भाजपामाथि धर्मको नाममा विभाजनको राजनीति गरेको आरोप लगाउँदै भने, राति एक बजी बिमार भए एम्बुलेन्स चालकलाई कसैले धर्म सोध्दैन। किसान, माछा बेच्ने, फूल विक्रेता के उनीहरूलाई धर्म सोधिन्छ? भाजपाले समाजलाई विभाजन गर्छ भने तृणमूल साम्प्रदायिक सौहार्दको प्रतीक हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande