
गान्तोक, 09 जनवरी (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले केन्द्रिय सडक यातायात तथा राजमार्ग राज्यमन्त्री हर्ष मल्होत्रालाई भेटेर नयाँ वर्षको शुभकामना दिए। यसैगरी, उनले गेजिङ जिल्लाको पहिलो राष्ट्रिय राजमार्गको निर्माण कार्य चॉंडो पूरा गर्नका लागि केन्द्रिय मन्त्रीको हस्तक्षेपको माग पनि गरे।
लोकसभा सांसद सुब्बाले आज नयॉं दिल्लीमा केन्द्रिय सडक यातायात तथा राजमार्ग राज्यमन्त्री हर्ष मल्होत्रासॅंग भएको भेटका क्रममा सिक्किममा राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड (एनएचआईडीसीएल) द्वारा कार्यान्वयन भइरहेका राष्ट्रिय राजमार्ग परियोजनाहरूको बारेमा छलफल गरे। छलफल परियोजनाहरूको समयमै र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न वर्तमान चुनौतीहरू र भविष्यका रणनीतिहरूमा केन्द्रित रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
उनले केन्द्रिय राज्यमन्त्री समक्ष राष्ट्रिय राजमार्ग-५१० अन्तर्गत गेजिङ जिल्लामा प्याकेज V र VI को सुस्त प्रगतिको कुरा उठाए। उनले प्याकेज V र VI गेजिङ जिल्लाको पहिलो राष्ट्रिय राजमार्ग रहेको उल्लेख गर्दै यसलाई सिक्किम राज्य स्थापना भएको लगभग ५० वर्षपछि एउटा ऐतिहासिक माइलखुट्टी बताए। उनले क्षेत्रीय सम्पर्क, आर्थिक विकास र सार्वजनिक सुविधा सुधार गर्न परियोजनाको महत्त्वमा जोड दिए।
सांसद सुब्बाले अवरोधहरूलाई सम्बोधन गर्न र परियोजनाको द्रुत समापन सुनिश्चित गर्न केन्द्रिय राज्यमन्त्रीको व्यक्तिगत हस्तक्षेपको लागि अनुरोध गरे। अर्कातिर मल्होत्राले सांसदद्वारा उठाइएका मुद्दाहरूलाई उचित विचार गर्ने आश्वासन दिॅंदै सिक्किम र अन्य हिमाली क्षेत्रहरूमा सडक पूर्वाधार सुदृढीकरण गर्न मन्त्रालयको प्रतिबद्धता दोहोर्याए।
हिन्दुस्थान समाचार / बिशाल