सिविटार एफसी घैयाबारीमा जारी फुटबल टुर्नामेन्टको क्वार्टर फाइनलमा पुग्न सफल
सिविटार एफसी घैयाबारीमा जारी फुटबल टुर्नामेन्टको क्वार्टर फाइनलमा पुग्न सफल


खरसाङ, 09 जनवरी (हि.स.)। घैयाबारी स्पोर्ट्स वेलफेयर एसोसिएशनको आयोजनामा घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा जारी नगद राशि फुटबल टुर्नामेन्टको चौथो दिनको खेलमा सिविटार एफसीले फूलबारी स्पोर्टिङ्ग क्लबलाई 2-0 को अन्तरले जितेर क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

गत 3 जनवरीदेखि घैयाबारीमा भइरहेको नगद राशि फुटबल टुर्नामेन्टको चौथो दिन सिविटार एफसी र फुलबारी स्पोर्टिङ्ग क्लबमाझ खेल सम्पन्न भयो। यस खेलमा शुरुदेखि नै सिविटारका खेलाडीहरू उत्कृष्ट प्रदर्शन गर्दै प्रतिद्वन्दी दलमाथि दबाउ बनाए। खेलको पहिलो हाफमा सिविटारको तर्फबाट जर्सी नम्बर 17 अनिकेत तामाङले गोल गरेर आफ्नो दललाई अग्रता दिलाए। त्यसको लगत्तै सिविटारको तर्फबाट जर्सी नम्बर 6 ले अर्को गोल गरेर स्कोर 2-0 पुऱ्याए।

दोस्रो हाफको खेलमा फूलबारी स्पोर्टिङ्ग क्लबले गोल गर्ने प्रयास गरे तापनि गोल गर्न सकेन। सिविटारले‌ यो म्याच 2-0 को अन्तरले जितेर क्वार्टर फाइनलमा प्रवेश गरेको छ। यस म्याचमा फूलबारी स्पोर्टिङ्ग क्लबका गोलकिपर कुनाललाई म्यान अफ् द म्याच चयन गरियो।

आज अतिथिका रुपमा घैयाबारी क्षेत्रका 6 वटा समाजका सभापति सचिवहरु उपस्थित रहेका थिए। भोलि, शनिवार पन्थाबारी एससी बागडोगरा र घैयाबारी एफसीमाझ खेल सम्पन्न हुनेछ।

घैयाबारी स्पोर्ट्स वेलफेयर एसोसिएशनको आयोजनामा यसपाली दोस्रो संस्करणको‌ नगद राशि फुटबल टुर्नामेन्ट भइरहेको छ। यस टुर्नामेन्टमा जम्मा 16 वटा टिमहरुले‌ सहभागिता जनाएका छन्। यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी 1 फरवरीको दिन हुनेछ। टुर्नामेन्टको विजेतालाई आकर्षक ट्रफीसहित डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीसहित एक लाख रुपियाँ प्रदान गरिने एसोसिएशनका सल्लाहकार दावा वाङ्दी लामाले जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande