सीएपी सिक्किमसँग राज्यको डावाडोल अर्थतन्त्रलाई सुदृढ़ बनाउने स्पष्ट रोडम्याप छ: डीबी स्टीफन गुरुङ
सीएपी सिक्किमसँग राज्यको डावाडोल अर्थतन्त्रलाई सुदृढ़ बनाउने स्पष्ट रोडम्याप छ: डीबी स्टीफन गुरुङ


गान्तोक, 09 जनवरी (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको क्षेत्रस्तरीय समन्वय सभा आज पार्टीको जिल्ला कार्यकारिणी समितिका अध्यक्ष डीबी स्टीफन गुरुङको अध्यक्षतामा सम्पन्न भयो। सभामा क्षेत्रका यूवीसी गठन, संगठन विस्तार तथा भावी रणनीतिबारे व्यापक छलफल गरिएको प्रेस विज्ञप्तिमा बताइएको छ।

राङगाङ–याङगाङ निर्वाचन क्षेत्रको यूवीसी गठन पश्चात् आफ्नो अध्यक्षीय सम्बोधनमा जिल्ला कार्यकारिणी समितिका अध्यक्ष गुरुङले राज्यलाई असह्य ऋणको बोझमा डुबाउने, अर्थतन्त्रलाई डावाडोल बनाउने तथा सीमित सामन्ती वर्गको स्वार्थमा सञ्चालित सरकारप्रति सशक्त खबरदारी गर्न सीएपी सिक्किम प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले सीएपी सिक्किमसँग राज्यको डावाडोल अर्थतन्त्रलाई सुदृढ़ बनाउने, प्रणालीमार्फत हरेक नागरिकलाई लाभान्वित गर्ने र दिगो व्यवस्था निर्माण गर्ने स्पष्ट रोडम्याप रहेको बताए।

समन्वय सभामा बोल्दै पार्टी नेतृत्वहरूले आम नागरिकका आधारभूत सुविधा तथा अधिकारप्रति वर्तमान सरकार इमानदार नरहेको, युवाहरूको योग्यता र क्षमतालाई उपेक्षा गरिएको, सिक्किमको भविष्यसँग खेलवाड भइरहेको तथा सरकार पूँजीवादीहरूको कठपुतली बनेको आरोपहरू लगाए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande