
खरसाङ, 09 जनवरी (हि.स.)। खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर एकदेखि वार्ड नम्बर बीससम्मका स्वनिर्भर दलहरुका सदस्याहरुसँग भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) को आज एक सभा सम्पन्न भयो। भागोप्रमोका केन्द्रिय अध्यक्ष अनित थापाको परामर्शलाई अघि बढाउँदै खरसाङको नयाँ बजारस्थित कमिटी हलमा भागोप्रमो टाउन कमिटी नारी शक्तिको तत्वावधानमा उक्त सभा सम्पन्न गरिएको बताइएको छ।
खरसाङ टाउन कमिटी अध्यक्ष राजु शर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त सभा स्वनिर्भर दलहरुका सदस्याहरुलाई समूह सञ्चालन गर्दा हुने समस्याहरूको समाधानका लागि सहयोग गर्ने र उनीहरूलाई स्वनिर्भर दलको माध्यमले आत्मनिर्भर बनाउने उद्देश्यले राखिएको थियो। खरसाङ टाउन कमिटी नारी शक्तिका अध्यक्ष देवकी सुब्बा प्रधानद्वारा सञ्चालित यस सभालाई खरसाङ नगरपालिकाका उपाध्यक्ष तथा खरसाङ जनसम्पर्क अधिकारी सुभाष प्रधान, 28 नम्बर खरसाङ चिम्नी देउराली समष्टिका सभासद श्याम शेर्पा, खरसाङ महकुमा क्षेत्रका चुनाउ प्रभारी समीर दीप ब्लोन, खरसाङ नगरपालिकाका बड़ा बाबु सुरेन कटुवाल, नगरपालिका क्षेत्रकी चुनाउ प्रभारी सबिता कार्की, खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रीनले सम्बोधन गरेका थिए।
सभामा स्वनिर्भर दलहरुको तर्फबाट उपस्थित भएका खरसाङ गोर्खे हाटकी सदस्या सरिता तामाङ अनि वार्ड नम्बर बीस ओलिभ स्वनिर्भर दलकी सदस्या संध्या थापाले आआफ्ना अनुभवहरू साझा गरेका थिए।
हिन्दुस्थान समाचार / हनोक