गोर्खा सांस्कृतिक संस्थान खरसाङको सभा सम्पन्न
Gorkha sanskritik sansthan


- पहिलो वैशाख मनाउने साथै गुरु गोरखनाथको मूर्ति स्थापना गर्ने निर्णय

खरसाङ, 08 जनवरी (हि.स.)। गोर्खा सांस्कृतिक संस्थान खरसाङको सभा आज गोर्खा सांस्कृतिक चिन्तन भवन, आईएनए बस बिसौनी परिसरमा संस्थानकी अध्यक्ष आशा मुखिया लामाको अध्यक्षतामा सम्पन्न भयो। सभामा गोर्खा नव-वर्ष 2083 लाई भव्य स्वागत जनाउँदै दुई दिवसीय कार्यक्रम आयोजना गरिने सभामा सर्वसम्मतिले निर्णय लिइयो।

सभामा पहिलो वैशाख (14 अप्रेल, 2026) का दिन खरसाङ अनि वरिपरि क्षेत्रका सम्पूर्ण संघ संस्था, जातगोष्ठी समुदाय, पाठशाला, महाविद्यालयका छात्र-छात्रा, सरकारी, गैरसरकारी प्रशिक्षण केन्द्रका प्रशिक्षणार्थीहरूलाई समावेश गरेर जातीय पोशाकमा सज्जिएर नव-वर्षलाई गीत, संगीत, नृत्य अनि नौमतीले स्वागत जनाउँदै विराट अनि भव्य सांस्कृतिक शोभायात्राको आयोजना गर्ने निर्णय लिइयो।

शोभायात्रा सम्पन्न भएपछि स्थानीय पार्क लोकेसनको सार्वजनिक भवनमा गोर्खा नेपाली जातिका सांस्कृतिक धरोहर, वरिष्ठ लोक संगीतकार नरेन गुरूङ, ‘पद्मश्री’, गान्तोक, सिक्किमलाई गोसांसको पक्षबाट सम्मान गर्ने निर्णय पनि लिइयो। यसरी नै आफ्नो सम्पूर्ण जीवन सारङ्गीमा अर्पेर जीवन धान्ने वरिष्ठ सारङ्गीवादक प्रेम गन्धर्व, खरसाङलाई सम्वर्द्धना जनाउने निर्णय पनि सभाले लिएको छ।

यस अतिरिक्त, 15 अप्रेल, 2026 का दिन सोही भवनमा “जातीय खाद्योत्सव” अनि “लोक संगीतमय साँझ” को आयोजन गरिने सभामा निर्णय लिइयो। गोर्खा सांस्कृतिक संस्थान, खरसाङको स्थापनाकालदेखि गुरु गोरखनाथको मूर्ति स्थापना गर्ने परिकल्पना आजपर्यन्त साकार हुन नसकेको तथ्य आध्यक्षा आशा मुखिया लामाले सभामा राखिन्। उनले सकरात्मक सोंच लिएर दीर्घलम्बित गुरु गोरखनाथको मूर्ति स्थापना गर्ने अधुरो सपनालाई यसपल्ट सबै मिलेर साकार तुल्याउने आह्वान सभामा गरिन्।

सभामा उपस्थित सबै सदस्यहरूले उनको उक्त सुझाउलाई स्वागत जनाए। मूर्तिको अनावरण पनि नव-वर्ष पहिलो वैशाख 2083 कै दिन गरिने निर्णय गरिएको छ। सभामा वरिष्ठ समाजसेवक तिलक शर्माले गुरु गोरखनाथको मूर्ति निर्माणको सुझाउलाई स्वागत जनाउँदै तत्कालै आफ्नो तर्फबाट 1001 रूपियाँ अनुदान स्वरूप प्रदान गरेर यस अभियानप्रति सहयोगको हात बढ़ाए।

सभामा गुरु गोरखनाथको मूर्ति बाग्राकोट निवासी वरिष्ठ मूर्तिकार अमीर सुन्दासबाट निर्माण गरिने सभाले तय गरेको छ। सभामा गोर्खा सांस्कृतिक संस्थान, खरसाङका सदस्यहरूले यथाशक्ति आर्थिक अनुदान दिएर मूर्ति निर्माण अभियानलाई सफल तुल्याउने जमर्कोमा दिलोज्यानले लागिपरेको सचिव प्रणिता मुखियाले बताएकी छन्। गोर्खा जातिका प्रतीक पुरुष गुरु गोरखनाथको मुर्ति निर्माण अभियानमा आर्थिक सहयोगको निम्ति खरसाङ वरिपरिका सम्पूर्ण संघ संस्था जातगोष्ठी समुदायहरूसित पत्राचार गरेर निवेदन टक्र्याउने पनि सभामा सर्वसम्मतिले पारित गरिएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande