आई-प्याक कार्यालयमा ईडीको छापामारी, झाड़ग्राममा तृणमूलले गऱ्यो पथावरोध
आई-प्याक कार्यालयमा ईडीको छापामारी, झाड़ग्राममा तृणमूलले गऱ्यो पथावरोध


झाड़ग्राम, 08 जनवरी (हि. स.)। कोलकातास्थित आई-प्याक कार्यालयमा प्रवर्तन निदेशालय (ईडी)-ले गरेको छापामारीको विरोधमा बिहीवार झाड़ग्राम जिल्ला तृणमूल कंग्रेसले कड़ा कदम उठायो। केन्द्र सरकार तथा केन्द्रिय एजेन्सीहरूको कथित दुरूपयोगको विरोधमा झाड़ग्राम ब्लक तृणमूल कंग्रेसका कार्यकर्ताहरूले लोधाशुलीमा व्यापक विरोध प्रदर्शन गरी राष्ट्रिय राजमार्गलाई जाम गरिदिए।,

पार्टी कार्यकर्ताले आरोप लगाए, केन्द्र सरकारले सीबीआई र ईडी जस्ता केन्द्रिय एजेन्सीहरूलाई राजनीतिक प्रतिशोधको निम्ति दुरूपयोग गरी तृणमूल कंग्रेसलाई लक्षित गरिरहेको छ। यसैको विरोधमा बिहीवार अपरान्ह लगभग 3 बजेदेखि कार्यकर्ताहरूले कोलकाता-मुम्बईलाई जोड़्ने राष्ट्रिय राजमार्ग-6 लाई पूर्ण रूपले जाम गरिदिए। सड़कमा उत्रेर तृणमूल कार्यकर्ता तथा नेताहरूले पार्टीको झण्डा हातमा बोकेर केन्द्र सरकारको विरोधमा गगनभेदी नाराबाजी गरे।

अचानक गरिएको यस पथावरोधको कारण राष्ट्रिय राजमार्गको दुवै तर्फ वाहनहरूको लामो लस्कर देखियो। विशेष गरी मालवाहक ट्रक र लामो दूरीका बसहरू ठप्प भएको कारण यात्रीहरूलाई विभिन्न समस्याको सामना गर्नुपऱ्यो।

प्रदर्शनकारीहरूले भने, जबसम्म राजनीतिक प्रतिशोधको भावनाले गरिरहेको यस किसिमको छापामारीलाई बन्द गरिँदैन तबसम्म उनीहरूको आन्दोलन जारी रहनेछ। नेताहरूले यो पनि स्पष्ट पारे, राज्य नेतृत्वबाट निर्देश नआउञ्जेलसम्म विरोध प्रदर्शन जारी रहनेछ।

पथावरोधको सूचना पाएर झाड़ग्राम पुलिस प्रशासन घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गर्ने प्रयास शुरू गऱ्यो। यो समाचार लेखुञ्जेलसम्म राष्ट्रिय राजमार्गमा अवरोध कायम थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande