
गान्तोक, 08 जनवरी (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको आज बर्फुङ निर्वाचन क्षेत्र स्तरीय समन्वय सभा नाम्ची जिल्ला अध्यक्ष डीबी स्टीफन गुरुङको अध्यक्षतामा सम्पन्न भयो। सभामा पार्टीको नीति र सिद्धान्तलाई गाउँ–गाउँसम्म पुर्याउने, पार्टीलाई अझ मजबुत बनाउने तथा संगठन विस्तार गर्ने विषयमा व्यापक छलफल गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
आफ्नो अध्यक्षीय सम्बोधनका क्रममा स्टीफन गुरुङले राज्यको आर्थिक अनियमितताबारे राज्यवासी स्पष्ट रूपमा अवगत हुँदाहुँदै पनि आवाज उठाउन नसकिरहेको अवस्थामा सीएपी सिक्किमले नागरिकको पक्षमा निरन्तर आवाज बुलन्द गरिरहेको र गरिरहने प्रतिबद्धता व्यक्त गरे। उनले युवाहरूको क्षमतामाथि खेलवाड गर्दै नेपोटिजम हावी भइरहेको आरोप लगाए भने पीडितहरूको न्यायका लागि जुनसुकै शक्तिसँग पनि लड्ने साहस पार्टीसँग रहेको बताए। उनले सीएपी सिक्किमको सोच, सुधारको अभियान र परिवर्तनको क्रान्तिलाई अब कसैले धम्क्याएर अथवा डर देखाएर रोक्न नसक्ने पनि बताए। उनले सिक्किमको वर्तमान र भविष्य जोगाउन सीएपी अन्तिम साससम्म लडिरहने प्रतिबद्धता व्यक्त गरे।
सभालाई बर्फुङ निर्वाचन क्षेत्रका एसीईसी अध्यक्ष तारा कुमार लिम्बू, युवा अध्यक्ष समीर राई, सीईसीका उपाध्यक्ष सन्जु राई, जनजाति कल्याण परिषदका उपाध्यक्ष ओङ्देन लेप्चा, महासचिव (प्रशासन) रबिन राईले पनि सम्बोधन गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल