एसकेएम पार्टीको 14औं स्थापना दिवस समारोहलाई लिएर पहिलो समन्वय बैठक सम्पन्न
skm foundation day


गान्तोक, 08 जनवरी (हि.स.)। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको १४औँ स्थापना दिवस समारोहलाई लिएर आज रम्फूस्थित पार्टी कार्यालयमा पहिलो समन्वय बैठक आयोजन गरियो। पश्चिम पाण्डाम समष्टि विधायक एलबी दासको सभाध्यक्षतामा आयोजित बैठकमा १४औँ स्थापना दिवस समारोह समिति गठन गर्नका साथै विभिन्न जिम्मेवारी समेत सुम्पियो। उक्त जानकारी एसकेएम राज्यस्तरीय साहित्य प्रकोष्ठका महासचिव परशु ढकालद्वारा आज जारी एक प्रेस विज्ञप्तिमा दिइएको छ।

एसकेएम पार्टी अध्यक्ष एवम् मुख्यमन्त्री प्रेमसिंह तामाङको प्रमुख संरक्षकत्वमा आयोजन हुने स्थापना दिवसको निम्ति पश्चिम पाण्डाम समष्टि विधायक एलबी दास संरक्षक रहेका छन्। यसैगरी, समारोह समितिका अध्यक्षमा पार्टीका सेक्रेटेरी जेनरल एवम् मन्त्री अरुण उप्रेती अनि छुङछुङ भोटिया लगायत मुख्य समन्वयकको रूपमा युवा प्रकोष्ठका अध्यक्ष लाक्पा मोक्तान रहेका छन्। आज बसेको पहिलो समन्वय बैठकमा १४औँ स्थापना दिवसको तयारी बारे व्यापक छलफल गर्नका साथै पार्टीका भातृ सङ्गठनहरू अनि कर्मठ व्यक्तित्वलाई विभिन्न कामहरूको जिम्मेवारी दिइयो।

बैठकलाई सम्बोधन गर्दै पार्टीका सेक्रेटेरी जेनरल एवम् समारोह समितिका अध्यक्ष अरुण उप्रेतीले आज दिइएको कामको जिम्मेवारीलाई निष्ठापूर्वक पालन गर्न आग्रह गरे। उनले स्थापना दिवसमा आम जनमानसको व्यापक उपस्थिति रहने र त्यस दिशामा केन्द्रित गरेर प्रत्येक निर्वाचन क्षेत्रले अहिलेबाटै जनमानसको सुविधालाई ध्यानमा राखेर तयारी शुरु गर्न अपील गरे।

बैठकलाई संक्षिप्त रूपमा सम्बोधन गर्दै पार्टी प्रवक्ता एवम् मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले १४औँ स्थापना दिवस सधैँ झैँ सहज अनि व्यापक रूपमा सफल पार्न पार्टी दृढ़ रहेको बताए। उनले चुनौती अरुले दिने नभएर विगतका आफ्नै कार्यक्रमहरू चुनौती हुने जनाउँदै विगतका कार्यक्रमभन्दा अझ धेरै सफल कार्यक्रम १४औँ स्थापना दिवस होस् भनी बताए।

कार्यक्रमलाई मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत, मुख्यमन्त्रीका ओएसडी कर्मा सुब्बा, पार्टी मुख्यालय महासचिव पवन गुरुङ, नारी प्रकोष्ठकी उपाध्यक्ष प्रभारी छिरिङ पाल्देन भोटियाले पनि सम्बोधन गरेका थिए। बैठकमा पार्टीको केन्द्रिय कार्यकारिणी, मन्त्री, विधायक, अध्यक्ष-सल्लाहकारगण, ओएसडीगण, पार्टीको जिल्ला तथा समष्टिस्तरीय समिति, पार्टीको सबै भातृ संगठनका प्रतिनिधिगण आदिको व्यापक उपस्थिति रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande