
कुशीनगर, १० अक्टोबर (हि.स.)। उत्तर प्रदेशको कुशीनगर जिल्ला स्थित जंगल जगदीशपुर गाउँको मदरहवा टोलमा दुई पत्नीबीचको पारिवारिक विवादका क्रममा ४८ वर्षीय ओमप्रकाश राजभरको कुटपिटबाट मृत्यु भएको छ। घटनामा उनकी दोस्रो पत्नी पनि गम्भीर घाइते भएकी छन्।
पुलिस अनुसार, ओमप्रकाशकी पहिलो पत्नी उर्मिला र उनका छोराछोरीमाथि हत्या गरेको आरोप लागेको छ। ओमप्रकाशका पहिलो पत्नीतर्फ तीन छोरी र एक छोरा तथा दोस्रो पत्नीतर्फ एक छोरा र एक छोरी छन्। दोस्रो विवाहपछि पति आफ्नो साथमा राख्ने र सम्पत्ति बाँड़फाँड़ गर्ने विषयमा दुवै पत्नीबीच बारम्बार विवाद हुँदै आएको थियो।
शनिवार बिहान पहिलो पत्नी खेतमा मेढ बाँध्ने काम गरिरहेका बेला ओमप्रकाश दोस्रो पत्नीसँग त्यहाँ पुगेपछि विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। विवाद बढ्दै जाँदा पहिलो पत्नी र उनका छोराछोरीले ओमप्रकाशमाथि कुटपिट गरी धारिलो हतियारले आक्रमण गरेको आरोप छ। घटनास्थलमै उनको मृत्यु भएको पुलिसले जनाएको
छ।
घाइते दोस्रो पत्नीलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ भने मृतकको शव परीक्षणका लागि पठाइएको छ। आरोपीहरूलाई पक्राउ गर्न पुलिसले तीन विशेष टोली गठन गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी