सिक्किम फुटबल सङ्घको नयाँ कार्यकारिणी समिति निर्विरोध निर्वाचित
सिक्किम फुटबल सङ्घको नयाँ कार्यकारिणी समिति निर्विरोध निर्वाचित


- मेन्ला इथेन्पा अध्यक्ष, फुर्बा शेर्पा महासचिव

गान्तोक, ११ अक्टोबर (हि.स.)। सिक्किम फुटबल सङ्घ (एसएफए) ले २०२६-३० कार्यकालका लागि नयाँ निर्वाचित कार्यकारिणी समितिको घोषणा गरेको छ। नयाँ खेलकुद शासन ऐन, २०२५ तथा अखिल भारतीय फुटबल महासङ्घ (एआईएफएफ) र सिक्किम फुटबल सङ्घको संशोधित संविधानअनुसार सङ्घको पहिलो कार्यकारिणी समिति निर्वाचन सम्पन्न भएको एसएफएले आज प्रेस बयानमा बताएको छ।

अखिल भारतीय फुटबल महासङ्घद्वारा नियुक्त निर्वाचन अधिकारी एनएम ढकालको रेखदेखमा निर्वाचन प्रक्रिया सञ्चालन गरिएको थियो। निर्वाचन प्रक्रिया पूरा भएपछि निर्वाचन अधिकारीले सिक्किम फुटबल सङ्घका निर्धारित १५ वटै कार्यकारिणी पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएको घोषणा गरे।

एसएफएको अध्यक्ष पदमा मेन्ला इथेन्पा निर्वाचित भएको छन् भने फुर्बा शेर्पा महासचिव पदमा नियुक्त भएका छन्। यसरी नै छुङछुङ भोटिया उपाध्यक्ष प्रथम, अर्जुन रोका उपाध्यक्ष द्वितीय, लेराब भोटिया संयुक्त सचिव प्रथम, साम्तेन ल्हामु लाचुङ्पा संयुक्त सचिव द्वितीय, अर्जुन राई कोषाध्यक्ष, सुसन भोटिया संयुक्त कोषाध्यक्ष र पेडर्न लामा प्रचार सचिव निर्वाचित भएका छन्।

यसरी नै नामग्याल भोटिया, बसन्त योञ्जन, विकास जैरु, ओङ छिरिङ लेप्चा, पुष्पा गुरुङ र प्रेकिला तामाङ कार्यकारिणी सदस्य निर्वाचित भएका छन्। नयाँ कार्यकारिणी समितिसँगै थप ३० जना नयाँ सदस्यले शपथ ग्रहण गरी सिक्किम फुटबल सङ्घमा औपचारिक रूपमा प्रवेश गरेका छन्। यसलाई सङ्घको सङ्गठनात्मक सुदृढीकरण तथा सिक्किमको फुटबल क्षेत्रमा सहभागिता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।

निर्वाचन घोषणाका क्रममा अखिल भारतीय फुटबल महासङ्घका कार्यकारिणी सदस्य तथा नागाल्यान्ड फुटबल सङ्घका अध्यक्ष के. नेइबो सेखोसे, सिक्किम ओलम्पिक सङ्घका संयुक्त सचिव महेन्द्र ढकाल र राज्य खेलकुद तथा युवा मामिला विभागका निर्देशक डा. आरबी विश्वकर्मा पर्यवेक्षकका रूपमा उपस्थित थिए।

नवनिर्वाचित समितिले फुटबल प्रशासनलाई सुदृढ बनाउने, तल्लो तहदेखि युवा खेलाडीको विकास गर्ने, घरेलु प्रतियोगिताको स्तर सुधार गर्ने, खेलाडी तथा आबद्ध क्लबहरूलाई सहयोग पुर्‍याउने र राज्यभरका फुटबल खेलाडीका लागि थप अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ।

सिक्किम फुटबल सङ्घले अखिल भारतीय फुटबल महासङ्घ, सिक्किम सरकार, जिल्ला फुटबल सङ्घहरू, आबद्ध क्लब, खेलाडी, पदाधिकारी तथा सबै सरोकारवालाप्रति निरन्तर सहयोग र सहकार्यका लागि आभार व्यक्त गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande