
गान्तोक, 13 अक्टोबर (हि.स.)। दक्षिण कोरियाको बुसान अन्तरराष्ट्रिय चलचित्र महोत्सवसँगै आयोजित ‘एशियन प्रोजेक्ट मार्केट’ (एपीएम) मा चलचित्रकर्मी त्रिवेणी राईको आगामी कथानक चलचित्र ‘अ क्रोनिकल अफ् माइनर थिङ्स’-ले शीर्ष पुरस्कार ‘एपीएम बुसान अवार्ड’ तथा सोरफण्ड अवार्ड’ जितेको छ। 48 देशबाट प्राप्त कीर्तिमानी 604 आवेदनमध्ये यो परियोजना छनोट गरिएको थियो। सोरफण्ड अवार्डको एक हिस्साका रूपमा राईलाई नर्वे भ्रमणको निम्तो पनि प्राप्त भएको छ, जसले अन्तरराष्ट्रिय सहकार्य र संलग्नताका लागि थप अवसरहरूको ढोका खोलेको छ।
राई र निर्माता किसलयले ‘एशियन प्रोजेक्ट मार्केट’ मा आफ्नो परियोजना प्रस्तुत गरेका थिए। यो मञ्च चलचित्रकर्मीहरूलाई अन्तरराष्ट्रिय निर्माता, लगानीकर्ता, बिक्री प्रतिनिधि र सम्भावित सहनिर्माण साझेदारहरूसँग जोड्ने एशियाकै अग्रणी मञ्चहरूमध्ये एक हो।
यो दोहोरो सम्मान राईको दोस्रो कथानक चलचित्रका लागि एक महत्त्वपूर्ण कोसेढुङ्गा साबित भएको छ। यसले विकासको प्रारम्भिक चरणमा रहेको यस परियोजनाको अन्तरराष्ट्रिय सहनिर्माण र लगानीको सम्भावनालाई अझ बलियो बनाएको छ।
“हामीले भर्खरै मात्र यस परियोजनाको विकास शुरु गरेका छौँ र यी पुरस्कारहरूले मलाई हामी सही दिशामा अघि बढ़िरहेका छौँ भन्ने कुरामा आश्वस्त पारेका छन्। म निकै खुशी र आभारी छु”-राईले भनिन्।
‘एशियन प्रोजेक्ट मार्केट’-ले चलचित्रकर्मीहरूलाई अन्तरराष्ट्रिय चलचित्र उद्योगमा आफ्ना परियोजनाहरू प्रस्तुत गर्न, साझेदारी निर्माण गर्न र लगानीका अवसरहरू खोज्न मञ्च प्रदान गर्दछ। एपीएम बुसान अवार्डले बजारमा प्रस्तुत गरिएका उत्कृष्ट सम्भावना बोकेका परियोजनाहरूलाई सम्मान गर्दछ भने सोरफण्ड अवार्डले नर्वेमा सहकार्य र निर्माणका अवसरमार्फत अन्तरराष्ट्रिय चलचित्र परियोजनाहरूलाई सहयोग पुर्याउँछ।
---------------
हिन्दुस्थान समाचार / बिशाल