
कोकाझार (असम), 2 अक्टोबर (हि.स.)। कोकराझारको बालाजानस्थित सेन्ट्रल इन्स्टिट्यूट अफ टेक्नोलोजी (सीआईटी) को छात्रावासमा गत 26 सेप्टेम्बरको दिन खाद्य विषाक्तताको कारणले 50 जनाभन्दा अधिक छात्राहरू बिरामी परेको मामिलालाई लिएर जिल्ला प्रशासनले एफआईआर दर्ता गरेको छ। घटना भएदेखि यस मामिलामा विरोध तथा प्रतिक्रियाको सिलसिला जारी छ।
यसैबीच कोकराझार जिल्ला प्रशासनको पक्षबाट अतिरिक्त मेजिस्ट्रेट कृष्ण ज्योति डेकाले गए बिहीवार कोकराझार सदर थानामा प्राथमिकी दर्ता गराए। यस घटनालाई लिएर जिल्ला प्रशासनले अनुसन्धान गरेको थियो भने अनुसन्धान रिपोर्टमा खुलासा भएको तथ्यको आधारमा एफआईआर दर्ता गर्ने कारबाही गरिएको छ।
कोकराझारका जिल्ला आयुक्त तथा जिल्ला मेजिस्ट्रेट पङ्कज चक्रवर्तीले गए बिहीवार राती मिडियालाई बताए, गत 26 सेप्टेम्बरमा खाना विषाक्तताका कारणले 50 जनाभन्दा बढ़ी छात्राहरूलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएपछि जिल्ला प्रशासनले यस विषयमा अनुसन्धान गर्ने आदेश दिएका थिए। अनुसन्धान रिपोर्टमा खुलासा भएका तथ्यहरूको आधारमा बिहीवार कोकराझार सदर थानामा प्राथमिकी दर्ता गरियो तथा पुलिसलाई मुद्दा दर्ता गरी अनुसन्धान गर्ने निर्देश दिइएको छ।
जिल्ला आयुक्तले भने, खाना विषाक्तता घटनाको लागि जिम्मेवार मानिसहरूविरूद्ध कारबाही सुनिश्चित गर्ने उद्देश्यले प्राथमिकी दर्ता गरिएको हो। उनले भने, पुलिसले सम्पूर्ण मामिलाको विस्तृत अनुसन्धान गर्नेछ अनुसन्धानको क्रममा खुलासा भएका सबै तथ्यहरूलाई सामेल गरिनेछ।
पङ्कज चक्रवर्तीले भने, सीआईटीमा लापरवाही भएको सङ्केत देखा परेको छ। छात्राहरूले बारम्बार सिकायत गरेको भए पनि संस्थानको सम्बन्धित पक्षले कथित रूपमा उचित ध्यान दिएन। मामिलासित सम्बन्धित सबै पक्षलाई पुलिस जाँचको घेराभित्र राखिनेछ। साथै दोषी पाइएका कसैलाई पनि छोडिने छैन भनी उनले बताए।
जिल्ला प्रशासन अनुसार सीआईटीमा खाद्यान्न आपूर्ति गर्ने ठेकादारको सेवालाई पहिला नै बन्द गरिएको छ। अब पुलिस जाँचपछि यस मामिलामा अग्रिम कानूनी कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा