रेवाडीः ब्राण्ड प्रमोशनको नाममा साइबर ठगी, एसपीले सल्लाह जारी गरे
पुलिस अधीक्षक हेमेंद्र कुमार मीणा


रेवाड़ी, 21 अक्टोबर (हि.स.)। इन्टरनेट मिडियामा ब्राण्ड प्रमोशन, पेड कोलाबोरेशन तथा अनलाइन कमाईको आकर्षक प्रस्तावहरू मार्फत साइबर धोखाधडी गरेको घटना प्रकाशमा आएको छ। साइबर अपराधीहरूले नामी कम्पनीको नाम र लोगोलाई प्रयोग गरी मानिसहरूलाई आफ्नो जालमा फसाइरहेका छन्। यस कुरालाई ध्यानमा राख्दै पुलिस अधीक्षक हेमेन्द्र कुमार मीनाले बुधवार सल्लाह जारी गर्दै जनतालाई सतर्क रहने अपील गरेका छन्।

साइबर अपराधीहरूले नक्कली इन्स्टाग्राम बिजनेस पेजहरू बनाएर मानिसहरूलाई लक्षित गरेको एसपीले बताए। यी प्रोफाइलहरूमा ठूलो सङ्ख्यामा अनुयायीहरू, आकर्षक पोस्टहरू, तथा उत्पादनहरूका तस्वीरहरू लगाइन्छ ताकि मानिसहरूले त्यसलाई वास्तविक ठानेर विश्वास गर्न सकुन्। त्यसपछि ब्राण्ड डाइरेक्ट म्यासेज, ई-मेल वा व्हाट्सएपको माध्यमबाट ब्राण्ड प्रमोशन अनि पेड पार्टनरशिपको प्रस्ताव पठाइन्छ।

उनले बताए, ठगहरूले मानिसहरूलाई आफ्नो जालमा फसाउनको लागि जाली एग्रिमेन्ट तथा अफर लेटर पनि पठाउनसक्छन्। उनीहरूलाई अनलाइन आयको प्रलोभन दिएर व्यक्तिगत जानकारी, ब्याङ्क विवरण, वा अन्य संवेदनशील जानकारी प्राप्त गर्ने प्रयास गरिन्छ। यस्तो अवस्थामा कुनै पनि आकर्षक प्रस्तावलाई विश्वास गर्नुअघि त्यसको सत्यता जाँच गर्नु महत्त्वपूर्ण हुन्छ।

एसपीले कुनै पनि ब्राण्ड प्रवर्द्धन प्रस्ताव स्वीकार गर्नुअघि सम्बन्धित कम्पनीको आधिकारिक वेबसाइट तथा इन्टरनेट मिडिया खाता जाँच गर्ने सल्लाह दिए। अज्ञात लिङ्कहरूमा क्लिक नगर्ने तथा कुनै पनि संदिग्ध एपहरू डाउनलोड गर्नदेखि बच्ने सल्लाह पनि दिए। ओटीपी, पासवर्ड, यूपीआई वा ब्याङ्क खाताको जानकारी कसैसँग साझा नगरियोस्, उनले भने।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande