
गान्तोक, ३१ अक्टोबर (हि.स.)। भारतका लौहपुरुष सरदार वल्लभभाई पटेलको जयन्तीको अवसरमा आज राजधानीस्थित चिन्तन भवनमा राष्ट्रिय एकता दिवस २०२६ मनाइयो। समारोहमा राष्ट्रिय एकता, अखण्डता तथा सार्वजनिक सेवाका आदर्शलाई आत्मसात् गर्दै स्थानीय भाषा र सांस्कृतिक सम्पदाको संरक्षण गर्नुपर्नेमा विशेष जोड दिइयो।
कार्यक्रममा सिक्किम विधानसभाका अध्यक्ष मिङ्मा नोर्बु शेर्पा मुख्य अतिथिका रूपमा सहभागी बनेका थिए। मुख्य अतिथिले कार्यक्रममा राष्ट्रिय एकता दिवसको शपथ गराएका थिए। शपथमार्फत राष्ट्रको एकता, अखण्डता र सुरक्षाप्रति सामूहिक प्रतिबद्धता दोहोर्याइएको थियो।
समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले सरदार पटेलको योगदानको स्मरण गरे। उनले स्वतन्त्रतापछि करिब ५६२ वटा देशी रियासतलाई भारतीय सङ्घमा एकीकरण गर्न पटेलले खेलेको ऐतिहासिक भूमिकाले भारतको राजनीतिक एकता र भौगोलिक अखण्डताको बलियो आधार तयार गरेको बताए।
उनले जाति, धर्म तथा सांस्कृतिक विविधताभन्दा माथि उठेर राष्ट्रिय एकतालाई प्राथमिकता दिन पटेलको जीवन र योगदानले आज पनि नयाँ पुस्तालाई प्रेरणा दिइरहेको उल्लेख गरे। उनले गुजरातमा स्थापित १८२ मिटर अग्लो ‘एकताको प्रतिमा’ पटेलप्रतिको उपयुक्त सम्मान रहेको पनि बताए।
‘एकताको प्रतिमा’ भ्रमण गर्दाको अनुभव सुनाउँदै अध्यक्ष शेर्पाले सार्वजनिक जीवनमा विनम्रता र जवाफदेहिताको महत्त्वमाथि प्रकाश पारे। उनले पटेलका दाजु विठ्ठलभाई झवेरभाई पटेलको योगदान पनि स्मरण गरे। विठ्ठलभाई १९२५ सालमा केन्द्रिय विधानसभाका पहिलो निर्वाचित भारतीय अध्यक्ष बनेका थिए। ब्रिटिस शासनकालमा अध्यक्ष पदको गरिमा र स्वतन्त्रता कायम राख्न उनले देखाएको दृढताको चर्चा गर्दै दुवै दाजुभाइले राष्ट्रसेवाका लागि गरेको त्यागको स्मरण गरे।
विविधतामा एकताको महत्त्वमाथि जोड दिँदै शेर्पाले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा राज्य सरकारले परम्परागत पहिरन तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि अघि बढाएका पहलहरूबारे चर्चा गरे। प्रत्येक बिहीबार परम्परागत पहिरन लगाउन प्रोत्साहित गर्ने राज्य सरकारको पहलका साथै विधानसभामा विधायकहरूलाई आ-आफ्नो समुदायको परम्परागत पोसाक लगाउन प्रोत्साहन गरिने अभ्यासको पनि उनले उल्लेख गरे।
नयाँ पुस्तामा मातृभाषाको प्रयोग क्रमशः घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले भाषा, संस्कृति र परम्परागत पहिरन समुदायको पहिचानका महत्त्वपूर्ण आधार भएको बताए। मातृभाषालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न अभिभावक तथा परिवारका सदस्यहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनले आग्रह गरे।
समारोहमा ग्रामीण विकास तथा सहकारिता विभागका मन्त्री अरुणकुमार उप्रेती, शहरी विकास तथा खाद्य एवं नागरिक आपूर्ति विभागका मन्त्री भोजराज राई, विधायक पामिन लेप्चा, मुख्य सचिव, पुलिस महानिदेशक तथा राज्य सरकारका अधिकारीहरूको उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / बिशाल