
खरसाङ, 31 अक्टोबर (हि.स.)। खरसाङ महकुमाअन्तर्गत महानदी ग्राम पञ्चायतको सिविटार चियाबारीस्थित गोदामटार निवासी प्रेणम खड्का विगत तीन वर्षदेखि परिवारको सम्पर्कबाहिर रहेको जानकारी प्राप्त भएको छ।
पिता राजकुमार खड्का र माता सपना खड्काका एकमात्र छोरा प्रेणम करिब ११ वर्षअघि कामको सिलसिलामा दक्षिण भारतको गोवा पुगेका थिए। उनी शुरुका वर्षहरूमा नियमित रूपमा परिवारको सम्पर्कमा रहे पनि विगत तीन वर्षदेखि सम्पर्कविहीन बनेका छन्।
छोराको लामो समयसम्म कुनै जानकारी प्राप्त नभएपछि चिन्तित माता-पिताले खरसाङ पुलिस थानामा उनको खोजी गरिदिन अनुरोध गर्दै लिखित उजुरी दर्ता गराएका छन्।
परिवारको आर्थिक आधारसमेत रहेका एकमात्र छोरा तीन वर्षदेखि बेपत्ता हुँदा आफूहरू अत्यन्तै चिन्तित बनेको बताउँदै माता-पिताले पुलिस प्रशासन तथा सर्वसाधारणसमक्ष प्रेणम खड्काको खोजीमा सहयोग गरिदिन अपील गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक