
खरसाङ, 31 अक्टोबर (हि.स.)। भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार एवं कालेबुङका चर्चित कथाकार शमशेर अलीको निधनप्रति गोर्खा जनपुस्तकालय खरसाङले गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।
लामो समयदेखि कोलकातामा उपचाररत रहेका कथाकार अलीको बिहीबार स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल लैजाने क्रममा निधन भएको थियो। उनी मिर्गौला रोग तथा क्यान्सरजस्ता गम्भीर रोगसँग जुधिरहेका थिए।
साहित्यकार अलीले २०१४ देखि २०२६ सम्म नौवटा कथासङ्ग्रह र एउटा संस्मरण प्रकाशित गरेका छन्।
पुस्तकालयकी सचिव गोमा सुब्बाले साहित्यकार अलीको निधनप्रति संस्थाको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको जानकारी दिएकी छन्।यसैबीच, गोर्खा जनपुस्तकालयका दुई वरिष्ठ आजीवन सदस्यको निधनप्रति पनि संस्थाले श्रद्धाञ्जली अर्पण गरेको छ। निधन हुनेहरूमा खरसाङको भानु टोल निवासी टी. एस. काङ र नयाँ बजार निवासी कुलप्रसाद शर्मा रहेका छन्। दुवैको निधन शनिबार भएको हो भने उनीहरूको अन्तिम संस्कार आइतबार गरिने जनाइएको छ।दुवै वरिष्ठ सदस्यप्रति श्रद्धाञ्जली अर्पण गर्न पुस्तकालयको प्रतिनिधि टोली उनीहरूको निवासमा पुगेर परिवारका सदस्यहरूसँग भेट गरेको थियो। सो अवसरमा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको सचिव गोमा सुब्बाले जानकारी दिएकी छन्।
हिन्दुस्थान समाचार / हनोक