
खरसाङ, 31 अक्टोबर (हि.स.)। सिक्किमका वरिष्ठ पत्रकार विजय बान्तवाको निधनप्रति शोक व्यक्त गर्दै प्रेस क्लब अफ् खरसाङले शनिबार शोकसभा आयोजना गरेको छ।
प्रेस क्लब अफ् खरसाङका सभापति एवं वरिष्ठ पत्रकार मुरारीलाल पञ्चमको अध्यक्षतामा सम्पन्न सभालाई क्लबका सचिव हनोक थापाले सञ्चालन गरेका थिए। सभामा स्वर्गीय पत्रकार बान्तवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनट मौनधारण गरिएको थियो। साथै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको थियो।
सभामा सभापति पञ्चमले स्वर्गीय विजय बान्तवाको जीवन तथा पत्रकारिता क्षेत्रमा उनले पुर्याएको योगदानबारे विस्तृत जानकारी गराएका थिए। उनले बान्तवा प्रेस एसोसिएसन अफ् दार्जिलिङका सदस्य रहेको तथा संस्थाको तर्फबाट सम्मानितसमेत रहेको बताए।
उनका अनुसार, स्वर्गीय बान्तवाको दार्जिलिङ र खरसाङका पत्रकारहरूसँग अत्यन्तै आत्मीय सम्बन्ध थियो। सिक्किम तथा खरसाङ क्षेत्रमा आयोजित विभिन्न कार्यक्रमहरूमा उनीहरू सँगै सहभागी हुने गरेको पनि उनले स्मरण गरे।शोकसभामा प्रेस क्लब अफ् खरसाङका कोषाध्यक्ष अर्पण गुरुङ, सदस्यहरू पमीर गुरुङ, देवेन थापा लगायत अन्य सदस्यहरूको उपस्थिति रहेको थियो। सभामा क्लबका विभिन्न सांगठनिक विषयमा समेत छलफल गरिएको थियो।
हिन्दुस्थान समाचार / हनोक