
गान्तोक, 05 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज पाल्जोर स्टेडियममा ४२औँ अखिल भारतीय राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सहभागी हुन पाउँदा आफूलाई खुशी लागेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत राज्यपाल स्वर्ण कप सिक्किमका सबैभन्दा प्रतिष्ठित तथा बहुप्रतीक्षित खेलकुद आयोजनामध्ये एक रहेको उल्लेख गरेका छन्।
मुख्यमन्त्री तामाङले राज्यपाल स्वर्ण कपले सिक्किमको खेलकुद विरासतमा विशेष स्थान ओगटेको बताउँदै यस प्रतियोगिताले देशभरिका प्रतिभाशाली फुटबल खेलाडी तथा टोलीलाई एकै ठाउँमा ल्याउनुका साथै युवा खेलाडीलाई प्रेरित गर्ने र खेलभावनालाई अझ बलियो बनाउने उल्लेख गरेका छन्।
उनले प्रतियोगिताको अवसरमा सिक्किमका पूर्व मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारीको ८६औँ जन्मजयन्तीका अवसरमा उनलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेको पनि बताएका छन्। सिक्किमको विकास र प्रगतिमा स्वर्गीय भण्डारीको अतुलनीय योगदान राज्यको इतिहास तथा सामूहिक स्मृतिको महत्वपूर्ण हिस्सा बनेर रहेको उनले उल्लेख गरेका छन्।
मुख्यमन्त्री तामाङले सुन्दर खेल फुटबलको उत्सव मनाउँदै गर्दा सिक्किमको निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने र पुस्तौँलाई प्रेरणा दिइरहने व्यक्तित्वहरूको विरासतलाई पनि सम्मान गर्नुपर्ने बताएका छन्।
उनले प्रतियोगितामा सहभागी सबै टोलीलाई प्रतिस्पर्धात्मक, स्मरणीय र सफल प्रतियोगिताका लागि शुभकामना दिँदै उत्कृष्ट टोली विजयी बन्ने कामना गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल