सिक्किममा निर्मित नेपाली फिल्म ‘हो नि हजुर’ खरसाङमा प्रदर्शन हुने
Ho ni hajur


खरसाङ, ०५ अक्टोबर (हि.स.)। सिक्किममा निर्माण भएको तथा खरसाङका छोरा एवं अभिनेता केवल सुब्बाको मुख्य अभिनय रहेको नेपाली फिल्म ‘हो नि हजुर’ खरसाङमा प्रदर्शन हुने भएको छ।

सुरज खातीको निर्देशन तथा संगीत रहेको उक्त नेपाली फिल्ममा सिक्किम, दार्जिलिङ, खरसाङ र कालेबुङ क्षेत्रका कलाकारहरूको अभिनय रहेको छ।

फिल्मको प्रदर्शनबारे जानकारी दिन सोमबार प्रेस क्लब अफ् खरसाङमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। फिल्मका निर्देशक एवं संगीतकार सुरज खाती तथा मुख्य अभिनेता केवल सुब्बाले फिल्मका विभिन्न पक्षबारे जानकारी दिए।

निर्देशक खातीका अनुसार, पश्चिम सिक्किमका विभिन्न स्थानमा छायांकन गरिएको ‘हो नि हजुर’ आगामी ९ अक्टोबरदेखि खरसाङको गिद्ध पहाडस्थित सिनेमा हलमा प्रदर्शन गरिनेछ।

फिल्ममा संगीत सुरज खातीको रहेको छ भने बानिका प्रधान, इस्माइल दास, साईराज खाती, स्मिता प्रधान र सुरज खातीको स्वर रहेको छ। संगीत संयोजन सुमित विश्वकर्माले गरेका छन्।

निर्देशक सुरज खातीले ‘हो नि हजुर’ युवा तथा पुरानो पुस्ता दुवैलाई समेटेर निर्माण गरिएको रोमान्टिक, हास्यप्रधान, पारिवारिक तथा गीत–संगीतले भरिपूर्ण फिल्म रहेको बताए। फिल्ममा ९० को दशकको परिवेशको अनुभूति दिलाउने प्रयाससँगै वर्तमान पुस्ताको स्वादलाई समेत समेटिएको उनले जानकारी दिए।

उनले दर्शकहरूलाई फिल्म एकपटक हेरेर प्रतिक्रिया दिन आग्रह गर्दै खरसाङवासीले पनि फिल्मलाई माया र साथ दिने विश्वास व्यक्त गरे।

पत्रकार सम्मेलनमा बोल्दै फिल्मका मुख्य अभिनेता केवल सुब्बाले लामो समयपछि ९० को दशकको अनुभूति गराउने तथा नयाँ पुस्तालाई समेत समेट्ने किसिमको नेपाली फिल्म निर्माण भएको बताए। उनले ‘हो नि हजुर’ पूर्ण पारिवारिक तथा मनोरञ्जनात्मक फिल्म भएको उल्लेख गर्दै खरसाङ क्षेत्रका दर्शकहरूलाई फिल्म हेर्न आग्रह गरे।

फिल्ममा नयाँ र पुरानो पुस्ताका कलाकार तथा कथावस्तुलाई समेटिएकाले सबै उमेर समूहका दर्शकले मनोरञ्जन लिन सक्ने अभिनेता सुब्बाको भनाइ छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande