खरसाङको कटलेरीमा आगलागीमा एउटा घर पूर्णरूपमा नष्ट, तीन घर क्षतिग्रस्त
Fire in cutlery


खरसाङ, 05 अक्टोबर (हि.स.)। खरसाङ नगरपालिका अन्तर्गत कटलेरी क्षेत्रमा आइतबार राति भएको आगलागीमा एउटा घर पूर्णरूपमा जलेर नष्ट भएको छ भने अन्य तीनवटा घरमा समेत क्षति पुगेको छ। आगलागीबाट कुनै मानवीय क्षति भने नभएको जानकारी प्राप्त भएको छ।

आइतबार राति अचानक आगलागी भएपछि खरसाङ अग्निशमन केन्द्रको दमकल घटनास्थल पुगेको थियो। तर सडकबाट घटनास्थल केही टाढा रहेकाले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताइएको छ।

आगलागीमा स्थानीय माइकल थामीको घर पूर्णरूपमा जलेर खरानी भएको छ। त्यसैगरी बाबुल थामी र रिता लामाको घरसमेत आगोको चपेटामा परेको जानकारी प्राप्त भएको छ।

घटनापछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन युवा शक्तिको टोलीले सोमबार अग्निपीडित परिवार तथा घटनास्थलको निरीक्षण गरेको छ। अग्निपीडित परिवारले नगरपालिकाबाट उपलब्ध हुने राहत तथा सहुलियत प्राप्त गर्न सकून् भन्ने उद्देश्यले टोलीले खरसाङ नगरपालिका पुगेर कार्यकारी अधिकृत एवं एसएई सञ्जय थापालाई घटनाबारे जानकारी गराएको थियो।

निरीक्षणमा भागोप्रमो खरसाङ टाउन युवा शक्तिका सदस्यहरूका साथै खरसाङ नगरपालिकाका पूर्वउपाध्यक्ष सुवास प्रधान र २८ नम्बर समष्टिका पूर्वसभासद् श्याम शेर्पालगायतको उपस्थिति रहेको थियो। टोलीले अग्निपीडित परिवारसँग भेट गरी उनीहरूको अवस्थाबारे जानकारीसमेत लिएको थियो।

यस विषयमा पत्रकारहरूसँग कुराकानी गर्दै युवा शक्तिका तर्फबाट सागर थापाले आगलागीबाट पीडित परिवारलाई प्रशासनले आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने माग गरे। उनले खरसाङ महकुमा शासकलाई समेत घटनास्थलमा पुगेर अग्निपीडित परिवारको अवस्थाबारे जानकारी लिन आग्रह गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande